लोड हुँदैछ...

मेनु

कोशी प्रदेशमै पहिलो पटक उदयपुरमा प्याराग्लाइडिङ प्रतियोगिता सुरु

कोशी प्रदेशमै पहिलो पटक उदयपुरमा प्याराग्लाइडिङ प्रतियोगिता सुरु

उदयपुर । उदयपुरको बेलका नगरपालिका–८ बोप्ताङडाँडा मा कोशी प्रदेशमै पहिलो पटक ‘कोशी प्रदेश स्तरीय प्याराग्लाइडिङ एक्युरेसी प्रतियोगिता–२०८२’ सुरु भएको छ।

बिहीबार आयोजित कार्यक्रममा बेलका नगरपालिकाका नगर प्रमुख अशोक कुमार कार्की ले प्रतियोगिताको उद्घाटन गरेका हुन्। नेपाल प्याराग्लाइडिङ तथा ह्याङ्गग्लाइडिङ संघ जिल्ला समिति उदयपुरको आयोजनामा तथा कोशी प्रदेश पर्यटन कार्यालय धरानको प्रायोजनमा प्रतियोगिता सञ्चालन गरिएको हो।

प्रतियोगितामा चार विदेशी पाइलटसहित कुल ३५ जना सहभागी भएका छन्। उद्घाटनसँगै पहिलो चरणमा २८ जना पाइलटले तीन–तीन राउण्ड टेकअफ गरेका छन् भने दोस्रो चरणमा १२ जना पाइलटबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। चार चरणको प्रतिस्पर्धापछि अन्तिम नतिजा सार्वजनिक गरिनेछ।

एक्युरेसी विधामा निर्धारित ‘पिन पोइन्ट’ नजिक अवतरण गर्ने पाइलटलाई कम अंक दिइने र सबैभन्दा कम अंक ल्याउने प्रतियोगी विजेता घोषित हुने व्यवस्था रहेको छ। प्रतियोगितामा भारत (सिक्किम) का राजु राई सहित नेपालका सुरेन गुरुङ, विमल अधिकारी र भुपाल राउत निर्णायकको भूमिकामा रहेका छन्। प्रतियोगिता सञ्चालनका लागि करिब ४ लाख ९० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

यसैबीच, उदयपुरका विभिन्न स्थानहरूलाई प्याराग्लाइडिङका लागि सम्भावनायुक्त गन्तव्यका रूपमा पहिचान गरिएको छ। रौतामाई गाउँपालिकाको रौतापोखरी, उदयपुरगढी, चौदण्डीगढी, कटारीको महाभारत क्षेत्र तथा त्रियुगा क्षेत्रलाई उपयुक्त स्थलका रूपमा हेरिएको छ।

हाल उदयपुरमा १८ जना सोलो पाइलट सक्रिय रहेका छन् भने बेलका–८ मा सञ्चालित ‘फ्लाइङ वन्डर्स प्याराग्लाइडिङ स्कुल’ मा विदेशी पाइलटहरू प्रशिक्षणका लागि आउने क्रम बढ्दो छ। भारत, चीन तथा युरोपेली मुलुकका पाइलटहरूले समेत यहाँ तालिम लिने गरेका छन्।

स्थानीय तहहरूले पनि साहसिक पर्यटन प्रवर्द्धनमा लगानी बढाएका छन्। यद्यपि टेकअफ र ल्यान्डिङ स्थल व्यवस्थापन तथा स्पष्ट सरकारी नीति अभाव चुनौतीका रूपमा देखिएको छ।

प्राकृतिक सौन्दर्य, अनुकूल मौसम र भौगोलिक संरचनाका कारण उदयपुरलाई साहसिक पर्यटनको नयाँ गन्तव्यका रूपमा विकास गर्ने आधार बलियो बन्दै गएको छ। बोप्ताङडाँडाबाट सुरु भएको यो प्रतियोगिताले जिल्लामा प्याराग्लाइडिङ पर्यटनको भविष्य थप उज्यालो बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।