खोटाङ । विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीस्थित ककनीडाँडामा निर्माणाधीन बुङालुङ पार्क (ढुङ्गे बगैँचा)मा बहुसांस्कृतिक सङ्ग्रहालय निर्माण सुरु गरिएको छ।
धार्मिक तथा पर्यटकीय क्षेत्र बुङालुङ पार्कमा कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालयसँगको साझेदारीमा हलेसी तुवाचुङ नगरपालिकाले सङ्ग्रहालय निर्माण थालेको हो।
सङ्ग्रहालय भवन निर्माणका लागि प्रदेश सरकार र नगरपालिकाले एक–एक करोड रुपैयाँ बजेट विनियोजन गरेका छन्। नगरप्रवक्ता तथा वडा नं. ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीका अनुसार प्रदेशको बजेटबाट गङ्गा–जमुना निर्माण सेवा ताप्लेजुङले ९० लाखमा र नगरपालिकाको बजेटबाट सुदेवी कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालिले ८० लाख ८१ हजार रुपैयाँमा निर्माणको जिम्मा लिएका छन्।
गत फागुन २२ गते सम्झौता भई सुरु गरिएको निर्माण कार्य आगामी जेठ मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। प्रदेश सरकारको बजेटबाट एक र नगरपालिकाको बजेटबाट दुई वटा गरी तीनवटा सङ्ग्रहालय भवन निर्माण गरिने जनाइएको छ।
नगरप्रमुख विमला राईका अनुसार बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक पहिचान संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले परियोजना अघि बढाइएको हो। उनका अनुसार स्थानीय संस्कृति, इतिहास, परम्परा र समुदायको जीवनशैली संरक्षण गर्दै पर्यटन विकासमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।
बुङालुङ पार्कलाई ढुङ्गे बगैँचाका रूपमा विकास गर्दै प्राकृतिक ढुङ्गालाई कलात्मक रूपमा सजाउने, ढुङ्गाका गेट, धारा, सिँढी तथा मूर्तिकलाको निर्माण गर्ने काम भइरहेको छ। भस्मासुरले महादेवलाई लखेटेको पौराणिक कथा झल्काउने मूर्तिसमेत निर्माण गरिने योजना छ।
समुन्द्री सतहबाट उच्च स्थानमा रहेको ककनीडाँडाबाट सगरमाथालगायत हिमशृङ्खला तथा सोलुखुम्बु, ओखलढुङ्गा, भोजपुर र रामेछापका भू–दृश्य अवलोकन गर्न सकिन्छ। बुङालुङ पार्क मुन्दुम ट्रेल (पदमार्ग)को प्रवेश क्षेत्रसमेत भएकाले यसको पर्यटकीय महत्व थप बढेको छ।
पार्क क्षेत्रमा गार्ड हाउस, रेष्टुरेन्ट, प्रवेशद्वार, शौचालय, टिकट काउन्टरलगायत संरचना निर्माण भइसकेका छन् भने भविष्यमा केबुलकार, विश्रामस्थल, कफी सप र अन्य पर्यटकीय पूर्वाधार विस्तार गर्ने योजना रहेको छ।
निर्माणाधीन अवस्थामै बुङालुङ पार्क आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्न थालेको छ। स्थानीयका अनुसार यहाँ दैनिक सयौँ पर्यटक आउने गरेका छन्।
संघ, प्रदेश र स्थानीय सरकारको संयुक्त लगानीमा अघि बढाइएको यस परियोजनाले हलेसी क्षेत्रको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।