लोड हुँदैछ...

मेनु

लालिगुराँसको राजधानीमा बैँस फर्कियो: ढकमक्क बन्यो ‘टिएमजे’ क्षेत्र

लालिगुराँसको राजधानीमा बैँस फर्कियो: ढकमक्क बन्यो ‘टिएमजे’ क्षेत्र

ताप्लेजुङ । गतवर्ष सरकारले दमकलबाट पानी हाल्दासमेत नफुलेको गुराँस यसपटक समयमै फुलेको छ । अघिल्लो साल कोशी पर्यटन वर्ष उद्घाटन गर्ने बेलासम्म गुँरास नफुलेपछि सरकारले रकम खर्चिएरै भएपनि गुराँस फुलाउन जोड गरेको थियो तर यस वर्ष गुराँस फुलाउन कुनै लगानी गर्न परेन ।

नयाँ वर्षको पदचापसँगै पूर्वी नेपालको पर्यटकीय मुटु तीनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्रमा लालीगुराँसको बैँस फर्किएको छ । ताप्लेजुङ, तेह्रथुम र सङ्खुवासभाको सङ्गमस्थलमा अवस्थित यो क्षेत्र अहिले ढकमक्क फुलेका गुराँसले राताम्मे देखिन थालेको हो । वनै श्रृंगारिए जस्तो देखिने यो मनमोहक दृश्यले प्रकृतिप्रेमीहरूलाई ‘टिएमजे’ तिर निम्तो गरिरहेको भान हुन्छ ।

‘गुराँसको राजधानी’ भनेर चिनिने यस क्षेत्रमा नेपालमा पाइने ३२ मध्ये २८ प्रजातिका गुराँस पाइन्छन् । अहिले राष्ट्रिय फूल लालीगुराँस मात्र नभएर सेतो, गुलाबी र पहेँला रङ्गका गुराँसले पनि पहाडका भित्ताहरू रङ्गिएका छन् । सामुदायिक वन उपभोक्ता महासङ्घ ताप्लेजुङका अध्यक्ष सुरज ओझाका अनुसार बैशाखको पहिलो सातासम्ममा यो क्षेत्र पूर्ण रूपमा फुलेर ढकमक्क हुनेछ, जसले पदयात्रीहरूलाई एउटा जीवन्त बगैँचाको महसुस गराउनेछ ।

गुराँस फुल्ने सिजन सुरु भएसँगै आन्तरिक र छिमेकी मुलुक भारतका पर्यटकहरूको चहलपहल ह्वात्तै बढेको छ । गुराँसको सौन्दर्यमा हराउँदै पर्यटकहरू प्रसिद्ध गुफा पोखरीको नीलो पानी र वसन्तपुरस्थित लिम्बू संस्कृतिको धरोहर ‘चोलुङ पार्क’ मा रमाउने गरेका छन् । बैशाखभर रहने गुराँसको यो रौनकले स्थानीय पर्यटनमा नयाँ उत्साह सञ्चार गरेको छ । राताम्मे पहाड, कञ्चन पोखरी र लेकाली हावाको संस्पर्शले पर्यटकहरूलाई यस क्षेत्रमा बारम्बार तानिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।