काठमाडौं । नयाँ सरकार गठन भएयता सेयरबजारमा निरन्तर गिरावट देखिएको छ। चैत १३ गते बालेन्द्र शाह नेतृत्वमा सरकार बनेपछि लगानीकर्तामा उत्साह नआउँदा बजार ओरालो लागिरहेको हो।
सरकार गठनपछि चैत १५ गतेको पहिलो कारोबार दिनदेखि नै बजार घट्न सुरु भएको थियो। त्यसयता बजार दुई दिन मात्र हरियो देखिएको छ—चैत १७ र १९ गते सामान्य वृद्धि भए पनि बजारले बलियो सुधारको संकेत दिन सकेको छैन।
आइतबार भने बजारमा ठूलो गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १०५.५० अंक (३.७९ प्रतिशत) ले घटेर २६७६.६८ विन्दुमा झरेको छ। यो नयाँ सरकार बनेयताकै सबैभन्दा ठूलो एकदिने गिरावट हो।
सरकार गठनअघि नेप्से २९६० अंकसम्म पुगेको थियो भने हालसम्म समग्रमा २८४ अंकले घटिसकेको छ। आइतबार करिब १२ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ भने ३ करोड १२ लाख कित्ता सेयर किनबेच भएको छ।
यस दिन ७ कम्पनीको मूल्य बढ्दा २६१ कम्पनीको सेयर मूल्य घटेको छ। बढेकामध्ये रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रो, रिजलाइन इनर्जी र होटल फरेस्ट इनाको सेयरमा सकारात्मक सर्किट लागेको छ भने सुपर खुदी हाइड्रो पनि करिब १० प्रतिशतले बढेको छ।
तर बजारको समग्र प्रवृत्ति भने नकारात्मक नै रह्यो। नारायणी विकास बैंक, हिमालयन रिइन्स्योरेन्स र भूगोल इनर्जी डेभलपमेन्टको सेयरमा नकारात्मक सर्किट लागेको छ भने गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र सप्तकोशी डेभलपमेन्ट बैंकको मूल्य पनि झन्डै १० प्रतिशतले घटेको छ।
कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स अगाडि रहँदै ५८ करोड रुपैयाँको कारोबार भएको छ। त्यसपछि शिवम् सिमेन्ट, ङादी ग्रुप पावर, नेशनल हाइड्रो र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टका सेयरमा उच्च कारोबार भएको छ।
समूहगत रूपमा सबै सूचक राताम्य भएका छन्। अन्य समूह करिब ६ प्रतिशतले घट्दा विकास बैंक र जलविद्युत् समूह ४ प्रतिशतभन्दा बढीले ओरालो लागेका छन्। वाणिज्य बैंक, फाइनान्स, होटल, लगानी, जीवन बीमा, निर्जीवन बीमा र व्यापार समूह पनि ३ प्रतिशतभन्दा बढीले घटेका छन्।
स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष नरेन्द्र सिँजापतिका अनुसार नयाँ सरकार गठनपछि व्यवसायीमाथि भइरहेको धरपकडले बजारमा त्रास सिर्जना भएको छ। ठूला लगानीकर्ता नै बजारका मुख्य हिस्सेदार भएकाले उनीहरूमा देखिएको असुरक्षाको भावना बजार गिरावटको एक प्रमुख कारण बनेको उनको भनाइ छ।
बजार लगातार ओरालो लागे पनि आइतबार कारोबार रकम भने उल्लेख्य रूपमा बढेको छ। अघिल्लो दिन ८ अर्ब ८१ करोड रुपैयाँको कारोबार भएकोमा आइतबार १२ अर्ब ३८ करोड पुगेको छ, जसले गिरावटबीच पनि कारोबार सक्रिय रहेको देखाएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।