लोड हुँदैछ...

मेनु

बिर्तामोडमा ‘कोशी–बंगाल सांस्कृतिक तथा पर्यटन उत्सव–२०८२’ हुने

बिर्तामोडमा ‘कोशी–बंगाल सांस्कृतिक तथा पर्यटन उत्सव–२०८२’ हुने

विर्तामोड । नेपाल–भारत सीमावर्ती क्षेत्रबीच सांस्कृतिक सहकार्य, पर्यटन प्रवद्र्धन तथा आर्थिक गतिविधि विस्तार गर्ने उद्देश्यसहित ‘कोशी–बंगाल सांस्कृतिक तथा पर्यटन उत्सव–२०८२’ झापाको बिर्तामोडमा आयोजना हुने भएको छ।

“सीमापार संस्कृति, सम्पदा र पर्यटनको उत्सव” भन्ने मूल नारासहित चैत २४ र २५ गते सञ्चालन हुने महोत्सवले कोशी प्रदेश र भारतको बंगाल क्षेत्रबीचको सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

पर्यटन कार्यालय काँकडभिट्टाको प्रवद्र्धन तथा निजी क्षेत्रको सक्रियतामा आयोजना हुन लागेको उक्त कार्यक्रममा सीमापार पर्यटन प्रवद्र्धनसँगै स्थानीय व्यवसायलाई चलायमान बनाउने लक्ष्य राखिएको छ। आयोजक समितिकी अध्यक्ष तथा होटल व्यवसायी संघ झापाकी अध्यक्ष इन्दिरा श्रेष्ठले महोत्सवले दुवै क्षेत्रका व्यवसायी, कलाकार र पर्यटकबीच सहकार्यको नयाँ अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरिन्।

पर्यटन कार्यालय झापाका प्रमुख छविलाल खतिवडाका अनुसार महोत्सवमा नेपालका १८ र बंगालका १२ गरी कुल ३० वटा स्टल रहनेछन्। ती स्टलहरूमा स्थानीय परिकार, हस्तकला सामग्री, पर्यटनसम्बन्धी जानकारी तथा सेवा प्रस्तुत गरिनेछ।

महोत्सव अवधिभर फोटो तथा चित्रकला प्रदर्शनी, लोक तथा सांस्कृतिक नृत्य, संगीत प्रस्तुति लगायत विविध कार्यक्रम समावेश गरिने आयोजकले जनाएको छ। यसले स्थानीय कला, संस्कृति र पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा टुर तथा ट्राभल व्यवसायी, होटल तथा होमस्टे सञ्चालकहरूको उल्लेख्य सहभागिता रहनेछ। सहभागीहरूले आफ्ना सेवा, प्याकेज तथा पर्यटकीय गन्तव्यहरूको प्रत्यक्ष प्रचार–प्रसार गर्ने अवसर पाउनेछन्।

आयोजकका अनुसार विशेषगरी पूर्वी नेपालका पर्यटकीय गन्तव्यहरूलाई भारतीय पर्यटकमाझ प्रवद्र्धन गर्ने तथा बंगाल क्षेत्रका गन्तव्यहरूलाई नेपाली बजारमा विस्तार गर्ने लक्ष्य राखिएको छ। कार्यक्रममा पर्यटन अभियन्ता अर्जुन कार्की, महिला उद्यमी सुश्मा पौडेल, नाट्टा कोशी प्रदेश महासचिव नविन खरेललगायतको उपस्थिति रहने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।