लोड हुँदैछ...

मेनु

कांग्रेस सङ्खुवासभाद्वारा नेता दीपक खड्का पक्राउप्रति आपत्ति, बिना शर्त रिहाइको माग

कांग्रेस सङ्खुवासभाद्वारा नेता दीपक खड्का पक्राउप्रति आपत्ति, बिना शर्त रिहाइको माग

संखुवासभा । नेपाली कांग्रेस सङ्खुवासभा जिल्ला कार्यसमितिले पूर्वमन्त्री एवं पार्टीका नेता दीपक खड्कालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको घटनाप्रति आपत्ति प्रकट गरेको छ।

जिल्ला कार्यसमितिले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै खड्कामाथिको कारबाहीलाई राजनीतिक पूर्वाग्रहबाट प्रेरित र प्रतिशोधपूर्ण कदमको संज्ञा दिएको छ। कार्यवहाक सभापति अनन्त कुमार गौली र जिल्ला सचिव कुमार बाबु अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा राज्यका निकायहरू निष्पक्ष र पारदर्शी हुनुपर्नेमा राजनीतिक प्रभावमा परेर यस्तो कदम चालिएको दाबी गरिएको छ।

‘लोकतन्त्रको मूल्य, विधिको शासन र मानवअधिकारप्रति प्रतिबद्ध एक जिम्मेवार नेतामाथि यस प्रकारको कारबाही हुनु केवल कानुनी प्रक्रिया मात्र नभई राजनीतिक पूर्वाग्रहबाट प्रेरित देखिएको हाम्रो ठहर छ,’ विज्ञप्तिमा भनिएको छ ।

राज्यले कुनै पनि व्यक्तिमाथि आरोप लागेमा पहिले बोलाएर अनुसन्धान गर्ने र कानुनी अधिकारको सुनिश्चितता गर्नुपर्नेमा एक्कासी पक्राउ गर्ने शैलीले विधिको शासनमाथि नै प्रश्न उठाएको कांग्रेसको तर्क छ।

कांग्रेस सङ्खुवासभाले यो घटनालाई विपक्षी आवाज दबाउने र राजनीतिक प्रतिशोध साध्ने प्रयासका रूपमा लिएको छ। विज्ञप्तिमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकसँग सम्बन्धित पछिल्ला घटनाक्रमहरूले समेत राज्य शक्तिको दुरुपयोग भइरहेको आशंका व्यक्त गरिएको छ। यस्ता गतिविधिले लोकतान्त्रिक मूल्य–मान्यतालाई कमजोर पार्ने र मुलुकलाई अनावश्यक द्वन्द्वतर्फ धकेल्ने चेतावनी समेत दिइएको छ।

सङ्खुवासभा कांग्रेसले नेता दीपक खड्का लगायत सम्बन्धित सबै नेताहरूलाई बिना शर्त तत्काल रिहा गर्न सरकारसँग जोडदार माग गरेको छ। साथै, सुरक्षा निकायहरूलाई कुनै पनि राजनीतिक दबाबमा नपरी स्वतन्त्र र निष्पक्ष रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।