काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भर्चुअल (भिडियो कन्फ्रेन्सिङ) माध्यमबाट अदालतमा उपस्थित गराइने भएको छ ।
स्वास्थ्य अवस्था अनुकूल नभएकाले उनलाई भौतिक रूपमा अदालत लैजान नसकिने भएपछि चिकित्सकको सुझावअनुसार भिडियो कन्फ्रेन्सिङमार्फत उपस्थित गराउने तयारी गरिएको हो।
शनिबार बिहान पक्राउ परेका ओली हाल त्रिवि शिक्षण अस्पतालमा भर्ना छन्। चिकित्सकहरूले उनलाई अस्पतालमै राखेर उपचार गर्नुपर्ने सुझाव दिएका छन्।
सरकारी वकिल कार्यालयले सोही आधारमा अदालतमा भर्चुअल उपस्थित गराउने प्रक्रिया अघि बढाएको हो । यसबीच काठमाडौं जिल्ला अदालत परिसर र आसपासका क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
उनीसँगै पक्राउ परेका पूर्वगृहमन्त्री रमेश लेखकलाई भने अदालतमा उपस्थित गराइसकिएको छ । उनलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा पेस गरिएको हो । न्यायाधीश आनन्दकुमार श्रेष्ठको इजलासमा उनको म्याद थपबारे बहस सुरु भएको छ ।
ओली र लेखकलाई जेनजी आन्दोलन दमनसम्बन्धी घटनामा ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न पक्राउ गरिएको हो। भदौ २३–२४ गते भएको उक्त आन्दोलन हिंसात्मक बन्दा तीन प्रहरीसहित ७६ जनाको मृत्यु भएको थियो भने हजारौँ घाइते भएका थिए।
घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकसहित जिम्मेवार पदाधिकारीहरूलाई दोषी ठहर गर्दै कारबाही सिफारिस गरेको थियो। सोही प्रतिवेदन कार्यान्वयन गर्ने निर्णयपछि उनीहरूलाई पक्राउ गरिएको हो।
पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्री पक्राउ परेर म्याद थपबारे सुनुवाई हुने भएकोले अदालत परिसरमा कानुन व्यवसायी तथा समर्थकहरूको उपस्थिति बाक्लो छ भने सुरक्षा व्यवस्था कडा पारिएको छ। सम्भावित प्रदर्शनलाई मध्यनजर गर्दै ठूलो संख्यामा प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।