लोड हुँदैछ...

मेनु

पाँचथर र ताप्लेजुङमा निर्माणाधीन दुई पक्की पुल भत्किए

पाँचथर र ताप्लेजुङमा निर्माणाधीन दुई पक्की पुल भत्किए

पाँचथर । पाँचथर र ताप्लेजुङमा निर्माणको अन्तिम चरणमा पुगेका दुई वटा पक्की पुल गएरातिको बाढीले भत्काएको छ। पाँचथरको याङ्बरक गाउँपालिका–२ स्थित मेवाखोला र ताप्लेजुङको नेरुवा खोलामा निर्माणाधीन पुल बाढीले भत्काएको हो। गएराति आएको बाढीले खोलाको सतह गहिरो बनाएर पुल अड्याउन राखिएका टेका र फर्माहरू ढालेपछि संरचना भाँचिएको प्राविधिकहरूले बताएका छन्।

मध्यपहाडी लोकमार्ग अन्तर्गत पाँचथरको मेवाखोलामा निर्माण भइरहेको ४० मिटर लामो पुल बाढीले काम नलाग्ने गरी भत्काएको छ। दुई वर्षअघि पनि बाढीले पुरानो पुल बगाएपछि यहाँ नयाँ पुल निर्माण सुरु गरिएको थियो। ९० प्रतिशत काम सम्पन्न भइसकेको उक्त पुल भाँचिएको मध्यपहाडी लोकमार्ग फिदिम आयोजना कार्यालयका प्रमुख सञ्जय मिश्रले जानकारी दिए। उनका अनुसार चैत २ गते मात्र पुलको ढलान गरिएको थियो। ७ करोड ७६ लाख रुपैयाँको लागतमा सरोज निर्माण सेवाले यो पुल निर्माणको ठेक्का लिएको थियो। पुल भत्किएपछि उत्तरी च्याङ्थापु र फलैँचाबासीलाई सदरमुकाम र अन्य क्षेत्रसँग जोडिन थप सास्ती हुने भएको छ।

यसैगरी ताप्लेजुङको नेरुवा खोलामा बनिरहेको ३५ मिटर लामो पुल पनि गएरातिको बाढीले भत्काएको छ। पूर्वाधार कार्यालय ताप्लेजुङका प्रमुख कुमार कर्णका अनुसार सो पुलको काम पनि अन्तिम चरणमा पुगेको थियो। ढलान भएको २८ दिनपछि रड तन्काउनुपर्ने प्राविधिक प्रक्रिया बाँकी रहँदै बाढीले सपोर्टमा क्षति पुर्‍याएर पुल भाँचिएको उनले बताए। केही हप्तामै गाडी कुदाउन मिल्ने गरी तयार भएको पुल सञ्जीव निर्माण सेवाले ७ करोड ४७ लाख रुपैयाँमा ठेक्का लिएर निर्माण गरिरहेको थियो। दुवै जिल्लाका पुल भत्किँदा राज्यलाई १५ करोडभन्दा बढीको क्षति भएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds