लोड हुँदैछ...

मेनु

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी : १५ औँ महाधिवेशनको कार्यतालिकामाथि छलफल हुने

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी : १५ औँ महाधिवेशनको कार्यतालिकामाथि छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बुधबार पनि बस्दै छ। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बैठक सुरु हुने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

मंगलबारदेखि जारी बैठकमा आज केन्द्रीय सदस्यहरूले विभिन्न एजेन्डामाथि आफ्नो धारणा राख्ने क्रम जारी रहनेछ। हिजोको बैठकमा महामन्त्री गगनकुमार थापाले आगामी २०८३ भदौ २४ देखि २६ गतेसम्म पार्टीको १५ औँ महाधिवेशन गर्ने कार्यतालिका प्रस्ताव गर्नुभएको थियो। आजको बैठक मुख्य गरी सोही कार्यतालिका र समसामयिक राजनीतिक विषयमा केन्द्रित हुने बताइएको छ।

बैठकमा सुशासन स्थापना, संविधान संशोधनका लागि विज्ञसहितको अध्ययन समिति गठन र केन्द्रीय निर्वाचन समिति निर्माणका विषयमा पनि छलफल भइरहेको छ।

यसबाहेक, प्रतिनिधिसभा सदस्यहरूका लागि अभिमुखीकरण कार्यक्रम, क्रियाशील सदस्यता वितरण एवं अद्यावधिक गर्ने विशेष अभियान, तथा प्रदेश र स्थानीय सरकारको कार्यसम्पादन समीक्षा जस्ता महत्त्वपूर्ण विषयहरू बैठकको कार्यसूचीमा समावेश छन्।

कांग्रेसले पछिल्लो राजनीतिक परिस्थिति, सरकारको प्रभावकारिता र पार्टीको साङ्गठनिक सुदृढीकरणका लागि यो बैठकलाई विशेष महत्त्वका साथ हेरेको छ। मंगलबारको बैठकमा धारणा राख्न बाँकी रहेका सदस्यहरूले आज आफ्नो विचार प्रस्तुत गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।