विराटनगर । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मत परिणाम आइसकेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र श्रम संस्कृति पार्टीले विजय हासिल गर्दा परम्परागत दलहरु कम्युनिष्ट नामधारी दर्जनौं पार्टी मात्रै होइन काँग्रेस र मधेशवादीहरुको पनि सर्मनाक पराजय भएको छ ।
प्राप्त जनमत र नयाँ दुई पार्टीको उदयलाई लिएर विभिन्न टिका टिप्पणी भइरहेकै छन् भने अर्कोतिर अब नेपालका बामपन्थी भनिएका दलहरुको पुनःगठन कसरी सम्भव छ ? उनीहरु पुरानै अवस्थामा फर्किन सक्छन् कि पतन रोकिँदैन ? यो विषयमा पनि चर्चा र बहस जारी छ ।
कम्युनिष्ट पार्टीहरुमध्ये नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मात्रै संसदमा पुगेका छन् । ती पार्टीहरु तेस्रो र चौथो स्थानमा छन् । अरु पार्टीहरुको अवस्था भने दयनिय बनेको छ । यद्यपि एमाले र नेकपाले पनि विगतको तुलनामा आधाजसो जनमत गुमाएका छन् ।
निर्वाचन सम्पन्न भएपछि नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)का अध्यक्ष घनश्याम भुषालले सामाजिक सञ्जालमा एउटा स्टाटस लेखे । उनको स्टाटसको शीर्षक नै कसरी बाँच्छ कम्युनिष्ट पार्टी भन्ने प्रश्नबाट सुरु भएको छ । ‘आफ्नो रूप हेरी–हेरी आफैं हुन्छु दङ्ग, हुँदै नार्सिसस जस्तै सकिने त होइन ? वा नयाँ शक्ति र जीवनका साथ फिनिक्सझैँ अगाडि बढ्छ ?,’ उनले प्रश्न छोडेका छन् । तर, नयाँ कम्युनिष्ट पार्टी पुनःगठनको रटान लगाउने उनको पार्टीले देशभरबाट समानुपातिकमा जम्मा पाएको मत भने ४ हजार ५१५ हो । यो जनमत र घनश्याम भुषालको राजनीतिक सिद्धान्तका भाषणको तुलना गर्ने हो भने जनमतभन्दा भाषण नै ठूलो लाग्छ ।
यस्तै यसअघिका निर्वाचनमा सहभागी नभइ पहिलो पटक निर्वाचनमा सहभागी भएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को निर्वाचनमा हार त्यस्तै लज्जास्पद छ । निर्वाचन सम्पन्न भएपछि सो पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले आफ्नो पार्टीले पाएको मतको र आगामी यात्राको बारेमा केही लेखेका छैनन् । बरु उनले रवि र बालेनको नाम लिँदै अहिले आएको जनमत नयाँ र आश्चर्यजनक नभएको बताएका छन् । ‘यो चुनावमा पुराना संसदवादी दलको स्थान रास्वपाले लिएको पक्ष नयाँ भए पनि संसदमा बहुमत हुने विषय नयाँ र आश्चर्य होइन । जनमतले परिवर्तन चाहेको भने प्रष्ट भयो,’ विप्लवले लेखेका छन्, ‘पूँजी, प्रचार, प्रपञ्चबाट प्रभावित परिणाम संसदीय प्रवृत्ति र सत्तामा पुगेर या उद्दण्ड भएर या बेकम्मा भएर पतन भएको छ । बालेन–रविले संविधान पुनर्लेखन, राज्यको पुनर्संरचना, शासकीय स्वरूप, आर्थिक नीतिबारे कस्तो निर्णय लिन्छन् सरकार बनेपछि स्पष्ट हुँनेछ ।’ उनले आफ्ना पार्टीका नेता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)को नेतृत्वमा पार्टीलाई चुनावमा होमेका थिए । उनको पार्टीले पाएको जम्मा समानुपातिक मत भने देशभरबाट २३ हजार ८६७ हो ।
त्यस्तै नेपालको संसदीय राजनीतिको इतिहासमा २०४८ यता कुनै न कुनै भर्याङबाट संसदमा पुगेको पार्टी हो राष्ट्रिय जनमोर्चा । उक्त पार्टीका अध्यक्ष चित्रबहादुर केसीले यो चुनावी परिणाम सही नभएको बताउँछन् । सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘सिंहदरबार डढाल्नेहरू, सर्वोच्च अदालत डढाल्नेहरू, संसद् डढाल्नेहरू अहिले त ठुलो संख्यामा आए त । जनताले सधैँ सही फैसला गर्छन् भन्ने कुरा होइन ।’ केसीले विगतमा आफूले भनेकै भएको भन्दै उनले अन्य दलतिरै आलोचनाको वर्षा गराए । तर, उनको पार्टीले यस पटक ल्याएको समानुपातिक मत भने जम्मा २९ हजार ४५६ हो ।
त्यस्तै सँधै भक्तपुरबाट विजयी हुँदै आएको नेपाल मजदुर किसान पार्टी पनि यस पटक बढारियो । सो पार्टी पनि २०४८ यता प्रायः संसदमा पुगेको थियो । सो पार्टीले यस पटक भने जम्मा ४२ हजार २९९ मत मात्रै ल्याए । उल्लेखित पार्टी बाहेक कम्युनिष्ट नाम गरेका पार्टीहरु पनि छन् । जसले केही हजार मात्रै मत ल्याउन सकेका छन् । जसको लिष्टमा नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी–लेनिनवादी पनि छ । जसले ६ हजार १७२ मत ल्याएको छ । यस्तै नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी (पुष्पलाल)ले ४ हजार ८३५ मत ल्याएको छ ।
अहिलेको ताजा जनादेशपछि आफ्नो प्रतिक्रिया दिँदै नेकपाका नेता इन्द्रबहादुर आङ्बो परिवर्तनको नाममा चुनावी परिणाम र जनादेश लोकप्रियतावादीको हातमा पुगिसकेको बताए । उनले यो पराजयको वस्तुनिष्ट समीक्षा गर्नुपर्नेमा जोड दिएका छन् । ‘यो शर्मनाक पराजयको बस्तुनिष्ठ समीक्षा सहित अब नेपाली कम्युनिष्ट पार्टी र नेतृत्व कसरी अगाडि बढ्ला नयाँ पुस्ता खासगरी बामपन्थी युवाहरुले ब्यग्रता र धैर्यताका साथ प्रतीक्षा गरिरहेका छन्,’ उनले भने नेताहरुलाई सम्बोधन गर्दै भनेका छन्, ‘सम्मानित आदरणीय नेताहरु, नयाँ पुस्तालाई निराश नबनाउ ।’
विश्लेषकहरु के भन्छन् ?
नेपाली राजनीतिमा कम्युनिष्ट नाम सुन्नासाथ एउटा ठूलो जनमत र ऊर्जाको चित्र आउँथ्यो । तर, पछिल्लो निर्वाचनले यो चित्रलाई धुमिल बनाइदिएको छ । एमाले, माओवादीदेखि साना–साना चिया पसलजस्ता देखिने कम्युनिष्ट घटकहरूको चुनावी हविगतले एउटा गम्भीर प्रश्न उठाएको छ— के अब नेपालमा कम्युनिष्ट आन्दोलनको पुनर्गठन सम्भव छ ?
विश्लेषक डम्बर खतिवडाका अनुसार कम्युनिष्टहरूको यो ओरालो यात्रा आकस्मिक होइन । ‘मलाई कस्तो लाग्छ भने, अब यो कम्युनिष्टहरूको पतनको प्रक्रिया चाहिँ यो चुनावबाट सुरु भएको होइन । यो २०७४ को चुनावमा जब कम्युनिष्टहरूलाई जनताले कम्युनिष्ट एकताको नाममा झन्डै दुई तिहाइको बहुमत दिए, त्यसपछि उहाँहरूको जुन असफलता भयो र त्यो सरकार ढल्यो, त्यसले ठूलो धक्का दियो,’ उनले भने, ‘ओली सरकारले केही पनि राम्रो काम गर्न सकेन र कम्युनिष्ट पार्टीहरू झगडा गरेरै ३–४ वर्ष बिताए । संसद् पनि दुई–दुई चोटी असंवैधानिक ढंगले विघटन गरे । त्यही विन्दुबाट जनतालाई कम्युनिष्टहरू प्रति चाहिँ भयङ्कर ठूलो घृणा र वितृष्णाको भावना उत्पन्न भएको थियो ।’
तत्कालिन माओवादीको ६४ सालमा ठूलो पार्टी हुँदै आएको बेला २९–३० प्रतिशत मत थियो । तर घट्न थालेपछि लगातार घट्यो । यसपालि त २२ वटा समूह मिल्दा पनि झन् घट्यो । अब नयाँ पुस्ताको नेतृत्व नआए पुनरुत्थान हुन नसक्ने खतिवडाको दाबी छ । बामपन्थी विश्लेषक प्राध्यापक कृष्ण पोखरेल हालैको निर्वाचन परिणामलाई हिमपहिरोको संज्ञा दिन्छन् । ‘यो निर्वाचनमा सबै पुराना दलहरू हिमपहिरोमा परे । यो हार कम्युनिष्टहरूको मात्र होइन, सबै पुराना दलहरूको विरुद्धको जनमत हो,’ पोखरेलले भने ।
निर्वाचनमा साना कम्युनिष्ट पार्टीहरूको उपस्थिति र परिणामबारे चर्चा गर्दै खतिवडा भन्छन्, ‘यी पार्टीहरूको नेपालको राजनीतिमा खासै कुनै गणना थिएन । न वैचारिक योगदान थियो, न कुनै संघर्षको गाथा । विप्लव महोदय यसपालि पहिलो चोटि निर्वाचनमा हाम फाल्नुभयो, छाती पिटेर आउनुभयो तर देशभरिबाट २५ हजार मत पनि क्रस गर्न सक्नुभएन ।’ नेमकिपाले भक्तपुरमा एउटा विकासको मोडल देखाएको छ, त्यहाँ शिक्षा–स्वास्थ्य राम्रो छ । तर पनि उनीहरु नजोगिएको उनको भनाइ छ ।
अहिले नेपालमा थुप्रै साना–साना कम्युनिष्ट पार्टीहरू छन् जसले २ हजार, ५ हजार वा १० हजार मत ल्याउँछन् । ‘अब यी साना पसलहरूलाई मल बनाउनुपर्छ । त्यसका लागि पहिला आत्मसमीक्षा गर्नुपर्यो । कुनै घमण्ड नदेखाई हामी कहाँ छौँ भनेर सोच्नुपर्यो । अब एकैचोटि पार्टी एकीकरणको हावादारी कुरा गरेर हुँदैन, तर सहकार्य गर्न सकिने वातावरण बनाउनुपर्छ,’ विश्लेषक पोखरेलले भने, ‘सहकार्य गरेर भारतको केरलाको जस्तो हुने कि, अहंकार पालेर पश्चिम बंगालको जस्तो हुने ? पश्चिम बंगालमा कम्युनिष्टहरू सकिए, केरलामा टिकिरहेका छन् । नेपालका कम्युनिष्टहरूले अब केरलाको बाटो रोज्ने कि बंगालको ? ।’
कम्युनिष्टहरूले आफ्नो एजेन्डा नै बिर्सिएको पोखरेलको दाबी छ । ‘माओवादी र एमाले दुवै कांग्रेससँग मिल्दा कांग्रेसकै एजेन्डा बोकेर हिँडे । उनीहरूको बीचमा केही नीतिगत भिन्नता नै देखिएन । अब धुलो टक्टक्याएर उठ्ने हो भने शिक्षा र स्वास्थ्यमा एजेन्डा ल्याउनुपर्यो । स्वास्थ्यमा निजी क्षेत्रलाई मात्र बढावा दिने कि राज्यको निगरानीमा राख्ने ?,’ पोरखेलले भने ।
खतिवडा भन्छन्, ‘कम्युनिष्ट पसलहरू बन्द गरेर नयाँ तरिकाले कम्युनिष्ट आन्दोलन पुनर्गठन हुने सम्भावना छ कि छैन ? यो नै मुख्य प्रश्न हो ।’ पोखरेल थप्छन्, ‘रास्वपाले जुन स्पेस (स्थान) लियो, त्यो वास्तवमा कांग्रेसको उदार लोकतन्त्रको स्पेस हो । अब कम्युनिष्टहरूले आफ्नो हराएको स्पेस खोज्नका लागि इमानदार हुनुपर्छ । साना पसलहरूलाई ठूलो मलमा रूपान्तरण गर्न सकियो भने मात्र फेरि कम्युनिष्ट शक्ति ब्युँझिन सक्छ, नत्र यो ओरालो यात्रा अझै गहिरो हुने निश्चित छ ।’




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।