लोड हुँदैछ...

मेनु

नेप्से २३.८३ अंकले बढ्यो, उकालो यात्रा जारी

नेप्से २३.८३ अंकले बढ्यो, उकालो यात्रा जारी

काठमाडौं । नेप्से परिसूचक मंगलबार पनि वृद्धि भएर बन्द भएको छ। पछिल्ला चार कारोबार दिनदेखि निरन्तर उकालो लागिरहेको बजारले यस दिन पनि सोही सकारात्मक लय कायम राखेको हो।

यस दिन नेप्से परिसूचक २३.८३ अंकले बढेर २९६०.४० विन्दुमा पुगेको छ। त्यस्तै सेन्सेटिभ इण्डेक्स १.९७ अंकले वृद्धि हुँदा फ्लोट इण्डेक्स ०.९१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८२ अंकले बढेका छन्।

नेप्से बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा सामान्य घटेको छ। सोमबार १५ अर्ब ७८ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा मंगलबार ३४१ वटा स्टकको १ लाख २६ हजार ९४७ पटकको कारोबारमा १४ अर्ब ८३ करोड ९१ लाख ८३ हजार रुपैयाँ बराबरको ३ करोड ५८ लाख २२ हजार कित्ता शेयर किनबेच भएको छ।

यस दिन पाँच कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ। सालपा विकास बैंक, रिलायन्स स्पिनिङ्ग मिल्स, सोलु हाइड्रोपावर, हिमालयन पावर पार्टनर र भुजुङ्ग हाइड्रोपावरका लगानीकर्ताले उच्च लाभ प्राप्त गरेका छन्। साथै होटल फरेष्ट इन, विशाल बजार कम्पनी र सिन्धु विकास बैंकको शेयर मूल्य करिब १० प्रतिशतले बढेको छ भने अभियान लघुवित्तको मूल्य साढे ६ प्रतिशतभन्दा बढीले उकालो लागेको छ। यता फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य भने सर्वाधिक ६.५६ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा यस दिन राधी विद्युत कम्पनी शीर्ष स्थानमा रह्यो, जसको ६७ करोड ४३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो। अपि पावर कम्पनीको करिब ५८ करोड रुपैयाँको कारोबार हुँदा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको संस्थापक शेयरको कारोबार रकम पनि साढे ४५ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढ्दा ५ उपसमूहको परिसूचक घटेको छ। व्यापार उपसमूह सर्वाधिक ९.१२ अंकले बढेको छ भने विकास बैंक उपसमूह पनि करिब साढे १ प्रतिशतले उकालो लागेको छ। होटल तथा पर्यटन, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहमा भने सामान्य गिरावट देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।