लोड हुँदैछ...

मेनु

रास्वपाले बिहीबार संसदीय दलको नेता चयन गर्ने

रास्वपाले बिहीबार संसदीय दलको नेता चयन गर्ने

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा अभूतपूर्व सफलता हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको औपचारिक प्रक्रिया सुरु गर्ने भएको छ। आगामी बिहीबार (चैत १२ गते) बस्ने पार्टीको केन्द्रीय समितिको बैठकले संसदीय दलको नेता चयन गर्दै सरकार गठनको ठोस मार्गचित्र तय गर्ने भएको हो। नेपालको संविधान २०७२ जारी भएयता पहिलोपटक कुनै एउटै दलले स्पष्ट बहुमत प्राप्त गरी सरकार बनाउन लागेको यो ऐतिहासिक अवसर हो।

गत फागुन २१ गते सम्पन्न निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ गरी कूल १८२ सिटसहित झन्डै दुई–तिहाइ बहुमत हासिल गरेपछि सत्ताको बागडोर सम्हाल्ने तयारी गरेको हो। पार्टी प्रवक्ता मनिष झाका अनुसार चैत १२ गते दिउँसो २ बजे प्रतिनिधिसभा सदस्यहरूको शपथ ग्रहण कार्यक्रम तय गरिएको छ। शपथ लगत्तै अपराह्न ४ बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा सभापति रवि लामिछानेको अध्यक्षतामा केन्द्रीय समितिको बैठक बस्नेछ। बैठकमा सबै केन्द्रीय सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ।

रास्वपाले चुनावअघि नै गरेको घोषणाअनुसार वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई संसदीय दलको नेता चयन गर्ने निश्चित भएको छ। दलको नेता चयन भएसँगै बालेनको नेतृत्वमा नयाँ सरकार गठनका लागि आवश्यक कानुनी र राजनीतिक गृहकार्य अघि बढाइने प्रवक्ता झाले जानकारी दिए। ‘हामीले निर्वाचनअघि नै बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेका थियौँ, अब त्यसलाई संसदीय दलको निर्णयबाट औपचारिकता दिनेछौँ,’प्रवक्ता झाले भने, ‘बैठकमा संसदीय दलको नेता चयनका साथै सरकारको प्राथमिकता र आगामी कार्ययोजनाबारे पनि विस्तृत छलफल हुनेछ ।

लामो समयको गठबन्धन राजनीतिको अन्त्य गर्दै एउटै दलले बहुमत प्राप्त गरेपछि मुलुकमा राजनीतिक स्थिरता आउने अपेक्षा गरिएको छ। रास्वपाको यो बैठकले बालेन शाहलाई संसदीय दलको नेता चयन गरेलगत्तै नयाँ सरकार गठनका लागि राष्ट्रपतिसमक्ष दाबी पेस गर्ने तयारी गरेको पार्टी स्रोतले जनाएको छ। मुलुकको बिग्रँदो अर्थतन्त्र सुधार र सुशासनलाई मुख्य एजेन्डा बनाएको रास्वपाले बालेनको नेतृत्वमा बन्ने सरकारमार्फत कस्ता योजना ल्याउँछ भन्नेमा अहिले आम चासो बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds