विराटनगर । मिथिला क्षेत्रमा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै लोक आस्था एवं सूर्य पूजाको महान् उत्सव चैती छठ पर्व मनाइँदैछ । नेपाल र भारतका मिथिला क्षेत्रमा गत आइतबार चतुर्थी तिथिदेखि धार्मिक विधिपूर्वक सुरु भएको चारदिने चैती छठ उत्सवको आज मुख्य दिन षष्ठी तिथिको साँझ विभिन्न जलाशयमा पसेर व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ दिँदैछन् ।
पर्वको मुख्य दिन आज साँझ व्रतालुले आ–आफ्ना घरमा गहुँ र चामललाई ओखल, जातो वा ढिँकीमा कुटानीपिसानी गरी सोबाट निस्केको पीठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठकुवा, भुसवा, खजुरीया, पेरुकियालगायत पकवान र विभिन्न फलफूल तथा मुला, गाजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती र ठूलो ढाक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै छठ घाटसम्म पुग्नेछन् । आज साँझ व्रतीहरूले सन्ध्याकालीन अर्घका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षता फूल हालेर अस्ताचलगामी सूर्यलाई अर्घ अर्पण गर्नेछन् ।
चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने चैती छठ पर्व आइतबारदेखि तराई, मधेस र भारत विहारको मिथिलाञ्चल क्षेत्रमा सुरु भएको थियो । यसपर्वको पहिलो दिन आइतबार व्रतीले ‘नहा खा’ अर्थात् नुहाएर चोखो खाने काम गरेका थिए भने दोस्रो दिन सोमबार व्रतालुले आ(आफ्ना कुलदेवताको पूजा र सूर्य देवता र छठी मातालाई निम्तो दिँदै खरना पर्व मनाएका थिए । खर्नाका दिन व्रतीले दिनभरि निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कुलदेवताको पूजा गरी अरवा अरबाइन ९बिनानुन हालेको० खानेकुरा खाएका थिए । आज षष्ठी तिथिमा अस्ताउँदो सूर्यलाई अर्घ दिएर मुख्य पूजा मनाइँदैछ भने भोलि बुधबार चौथो एवं अन्तिम दिन एकाबिहानै जलाशयमा पसेर प्रातःकालीन उदाउँदो सूर्यलाई अर्घ दिएपछि चैती छठ पर्व सम्पन्न हुनेछ ।
चैती छठ पर्व महोत्तरीको सदरमुकाम जलेश्वरसहित मटिहानी, गौशाला, बर्दिवास, औरही, मनरासिस्वा, लोहारपट्टी, रामगोपालपुर, बलवा र भङ्गाह नगरपालिकाका साथै पिपरा, सम्सी, एकडारा, सोनमा र महोत्तरी गाउँपालिकाका सहरी एवं ग्रामीण क्षेत्रमा रहेका पोखरी, तलाऊ तथा बिग्ही, रातो मरहा, जङ्गहा, अङ्कुसी नदी तथा नहरको किनारमा धार्मिक विधिपूर्वक मनाइँदैछ । पहिले तराई–मधेसका जिल्लामा मात्रै सीमित यो पर्व अहिले देशको राजधानी काठमाडौंसहित पोखरा, नारायणघाट, धरान, इटहरीलगायत स्थानमा पनि मनाउन थालिएको छ ।
सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यसपर्वको विशेषता रहेको जलेश्वर(८ का पण्डित अनिल पाठकले बताउनुभयो । त्यस्तै, जलेश्वरनाथ महादेवका पुजारी कामेश्वर पाठकका अनुसार सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ । पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण र रोगबाट मुक्तिका लागि मनाइने यस पर्वमा चढाइने पदार्थको सङ्ख्या ७० पुर्याउनुपर्ने भए पनि सामर्थ्य नहुनेले गम्हरी धानको चामल मात्र चढाए पनि देउता प्रसन्न हुने जनविश्वास छ ।
महाभारतका अनुसार द्रोपदीसहित पाण्डव अज्ञातवासमा रहँदा उक्त वास सफल होस् भनी मिथिलाको किरात राजाको क्षेत्रमा बास बसेको समयमा सूर्यदेवको आराधना गरेका थिए, जसलाई छठ परम्पराको सुरुवात मानिन्छ । सूर्यपुराणअनुसार सर्वप्रथम पत्नी अनुसूइँयाले छठ व्रत गरेकी थिइन् । धार्मिक आस्थाका साथसाथै सामाजिक सद्भावका रूपमा विकसित यो पर्व हिन्दूका साथै मुस्लिम समुदायले पनि मनाउने गर्छन् । आज मुख्य दिन भएकाले मिथिलाञ्चलसहित विभिन्न छठ घाटमा श्रद्धालुहरूको ठूलो भीडभाड लागेको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।