इलाम । पूर्वी नेपालको प्रमुख पर्यटकीय गन्तव्य सन्दकपुर गाउँपालिका मा तेस्रो ‘रेडपाण्डा महोत्सव’ आयोजना हुने भएको छ।
यही चैत २० गतेदेखि २३ गतेसम्म सञ्चालन हुने महोत्सवले दुर्लभ वन्यजन्तु रेडपाण्डा को संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
सोमबार काठमाडौंमा आयोजित अन्तरक्रिया तथा पत्रकार भेटघाट कार्यक्रममा महोत्सवबारे जानकारी दिँदै आयोजक समितिका संयोजक सनम राईले महोत्सवको मुख्य उद्देश्य रेडपाण्डा लगायत लोपोन्मुख वन्यजन्तुको संरक्षणबारे जनचेतना अभिवृद्धि गर्नु तथा क्षेत्रीय पर्यटनलाई प्रवर्द्धन गर्नु रहेको बताए। महोत्सव विशेषगरी ‘रेडपाण्डा ट्रेल’ मा आधारित पदमार्ग पर्यटनलाई केन्द्रमा राखेर आयोजना गर्न लागिएको हो।
करिब ४० किलोमिटर लामो उक्त पदमार्गले इलामको माईपोखरीदेखि जौबारीसम्मका विभिन्न पर्यटकीय स्थललाई जोड्ने गर्दछ। यस मार्गमा रेडपाण्डासहित विविध वन्यजन्तु, चराचुरुङ्गी तथा जैविक विविधताको अध्ययन–अवलोकन गर्न सकिने व्यवस्था रहेको जानकारी दिइयो।
महोत्सव अवधिमा पर्यटकहरूले सन्दकपुर डाँडाबाट सूर्योदय र सूर्यास्तको अवलोकन, हिमश्रृंखलाको मनोरम दृश्य, जङ्गल सफारी, स्थानीय संस्कृति तथा परिकारको अनुभव लिन पाउनेछन्। साथै, रामसार सूचीमा सूचीकृत माईपोखरीको भ्रमण, वनस्पति तथा चराचुरुङ्गी अध्ययन जस्ता गतिविधिहरू पनि समेटिनेछन्।
कालपोखरी मा आयोजना हुने महोत्सव सफल बनाउन विभिन्न सहयोगी संस्थासँग सहकार्य गरिएको आयोजकले जनाएको छ। सन्दकपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलकुमार लिम्बुले महोत्सवले रेडपाण्डा अवलोकनसँगै क्षेत्रभित्रका प्रमुख पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
महोत्सवमा आन्तरिक तथा बाह्य गरी करिब १० हजार पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ। भारतसँग सिमाना जोडिएको सन्दकपुर क्षेत्रमा भारतीय पर्यटकको आगमन पनि उल्लेख्य रहने अपेक्षा गरिएको छ।
यसअघि आयोजना गरिएका रेडपाण्डा महोत्सवहरूले स्थानीय स्तरमा पर्यटन व्यवसाय विस्तार, रोजगारी सिर्जना तथा वातावरण संरक्षणप्रति जनचेतना बढाउन सहयोग गरेको आयोजकको दाबी छ। प्राकृतिक सौन्दर्य, हिमाली दृश्य, जैविक विविधता र सांस्कृतिक सम्पदाले भरिपूर्ण सन्दकपुर क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरको पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यका साथ महोत्सव आयोजना गर्न लागिएको हो।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।