लोड हुँदैछ...

मेनु

नेप्सेमा सामान्य सुधार, कारोबार रकम घट्यो

नेप्सेमा सामान्य सुधार, कारोबार रकम घट्यो

विराटनगर । साताको दोस्रो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५.०१ अंकले बढेर २९३६.५६ विन्दुमा बन्द भएको छ।

दिनभर बजार अधिकांश समय नकारात्मक रहेपनि अन्तिम समयमा सुधार भई नेप्से हरियो क्षेत्रमा बन्द भएको हो।

अघिल्ला दुई दिन उच्च अंकले बढेको बजार सोमबार भने इन्ट्राडे करेक्सनपछि सीमित वृद्धिसहित रोकिएको देखिएको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ०.२८ अंकले घट्दा फ्लोट इण्डेक्स ०.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०३ अंकले बढेको छ।

नेप्से बढेपनि कारोबार रकममा भने गिरावट आएको छ। आइतबार २३ अर्ब ५९ करोड रुपैयाँको कारोबार भएको बजारमा सोमबार ३४२ कम्पनीका १ लाख ५६ हजार ३८१ कारोबारबाट १५ अर्ब ७८ करोड ६३ लाख रुपैयाँ बराबरको ३ करोड ८० लाख ७३ हजार कित्ता शेयर किनबेच भएको छ।

यस दिन सालपा विकास बैंक, रिलायन्स स्पिनिङ्ग मिल्स, सोलु हाइड्रोपावर र भुजुङ्ग हाइड्रोपावर का शेयर सकारात्मक सर्किटमा कारोबार भए। त्यस्तै मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर र होटल फरेष्ट इन को मूल्य करिब १० प्रतिशतले बढ्दा फस्ट माइक्रोफाइनान्स लघुवित्त को मूल्य करिब ९ प्रतिशतले वृद्धि भएको छ।

कारोबार रकमका आधारमा कुमारी बैंक शीर्ष स्थानमा रहँदै ६७ करोड २३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। त्यसपछि शिवम् सिमेन्ट्स को ६० करोडभन्दा बढी र नेशनल हाइड्रोपावर कम्पनी को ५७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

उपसमूहगत रूपमा १३ मध्ये ७ समूहको परिसूचक बढ्दा ६ समूहको घटेको छ। उत्पादन तथा प्रशोधन समूह सर्वाधिक १.५३ प्रतिशतले बढ्दा जलविद्युत र म्युचुअल फण्ड समूह पनि करिब १ प्रतिशतले उकालो लागेका छन्। बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जीवन बीमा, निर्जीवन बीमा र व्यापार समूह भने सामान्य गिरावटमा बन्द भएका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।