विराटनगर । आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५४.५१ अंकले बढेर २९३१.५५ विन्दुमा बन्द भएको छ।
यस दिन सेयर बजारमा उत्साहजनक कारोबार देखिँदै कुल २३ अर्ब ५९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ, जुन पछिल्लो आठ महिनाकै उच्च हो। यसअघि २०८२ साउन ११ गते २६ अर्ब ५७ करोड रुपैयाँको कारोबार भएको थियो।
कुल ३६४ वटा धितोपत्रका ६ करोड १४ लाख ७ हजार ७४ कित्ता सेयर कारोबार हुँदा १८३ कम्पनीको सेयर मूल्य बढेको, ७३ वटाको घटेको र ८ कम्पनी स्थिर रहेका छन्।
यस दिन सात कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कर्पोरेट डेभलपमेन्ट बैंक, रिलायन्स स्पिनिङ मिल्स, साल्पा विकास बैंक, अभियान लघुवित्त, सोलु हाइड्रोपावर र भुजुङ हाइड्रोपावर को मूल्य १० प्रतिशतले बढ्दा होटल फरेस्ट इन को मूल्य ९.९८ प्रतिशतले वृद्धि भएको छ।
घट्ने कम्पनीतर्फ एनआइसी एसिया ब्यालेन्स्ड फण्ड को मूल्य सबैभन्दा धेरै ५.७१ प्रतिशतले घटेर प्रति इकाइ ९ रुपैयाँ ९८ पैसामा झरेको छ। साथै सुपर मादी हाइड्रोपावर को मूल्य ३.१५ प्रतिशतले घटेर ५२८ रुपैयाँमा सीमित भएको छ।
कारोबारका आधारमा कुमारी बैंक शीर्ष स्थानमा रहेको छ, जसको २४३ रुपैयाँ २० पैसामा ८५ करोड ९६ लाख रुपैयाँको कारोबार भएको छ। दोस्रो स्थानमा नेसनल हाइड्रोपावर रहेको छ, जसको ७७ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
समूहगत रूपमा कारोबारमा आएका १३ वटै समूहको परिसूचक बढ्दा समग्र बजार उकालो लागेको हो। विशेषगरी लघुवित्त समूहमा लगानीकर्ताको आकर्षण उच्च देखिँदै उक्त समूहको परिसूचक सर्वाधिक ४.२१ प्रतिशतले वृद्धि भएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।