लोड हुँदैछ...

मेनु

झापामा चार वर्षपछि बर्डफ्लू संक्रमण पुष्टि

झापामा चार वर्षपछि बर्डफ्लू संक्रमण पुष्टि

दमक । झापामा चार वर्षपछि पुनः कुखुरामा बर्डफ्लू संक्रमण देखिएको छ। मोरङको सुन्दरहरैचामा संक्रमण देखिएसँगै दमकमा पनि बर्डफ्लू पुष्टि भएको हो।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाकी प्रमुख शीतल भट्टराईका अनुसार दमक नगरपालिका–१० स्थित ‘दमक एग्रीकल्चर फार्म प्रालि’मा रहेका कुखुरामा संक्रमण पुष्टि भएको छ।

फार्ममा कुखुरा मर्न थालेपछि नमुना परीक्षणका लागि विराटनगर पठाइएको थियो । जहाँबाट थप परीक्षणका लागि काठमाडौं स्थित केन्द्रीय प्रयोगशालामा पठाइएको थियो। केन्द्रीय प्रयोगशालाबाट शनिबार संक्रमण पुष्टि भएको हो ।

बर्डफ्लुको संक्रमण पुष्टि भएपछि आइतबार कोशी प्रदेश सरकारको र्‍यापिड रेस्पोन्स टिम घटनास्थलमा खटाइएको छ। फार्मको चार किल्ला निर्धारण गरी कुखुराको संख्या र क्षतिको विवरण संकलन गरिएको छ ।

अध्ययन प्रतिवेदनपछि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बैठक बसेर संक्रमित कुखुरा नष्ट गर्ने निर्णय गरिने भट्टराईले बताइन्। बर्डफ्लू पुष्टि भएका फार्मलाई राज्यबाट क्षतिपूर्ति दिने व्यवस्था रहेको छ

यसैबीच झापा गाउँपालिका–७ स्थित सुदीक्षा कृषि फार्ममा ‘एचवान लो प्याथोजेनिक’ प्रकारको बर्डफ्लू संक्रमण देखिएको छ। यो कम घातक भएकाले उपचारबाट निको हुन सक्ने र यसलाई गम्भीर रूपमा नलिइएको जनाइएको छ। यस्ता फार्मलाई भने क्षतिपूर्ति दिने व्यवस्था छैन ।

नेपालमा पहिलो पटक बर्डफ्लू संक्रमण २०६५ साल माघमा काँकरभिट्टामा फेला परेको थियो। त्यसयता २०६९ र २०७८ सालमा पनि झापामा संक्रमण देखिएको पशु सेवा विज्ञ केन्द्रले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।