लोड हुँदैछ...

मेनु

मोरङपछि झापामा पनि देखियो बर्डफ्लू

मोरङपछि झापामा पनि देखियो बर्डफ्लू

विराटनगर । झापामा चार वर्षको अन्तरालपछि पुनः कुखुरामा घातक प्रकृतिको बर्डफ्लू संक्रमण पुष्टि भएको छ । छिमेकी जिल्ला मोरङको सुन्दरहरैँचा र उर्लाबारीमा संक्रमण देखिएको केही समयमै झापाको दमकमा पनि यसको असर देखिएको हो ।

दमक नगरपालिका–१० स्थित दमक एग्रिकल्चर फार्म प्रा.लि.का कुखुरामा बर्डफ्लू भेटिएपछि आइतबारदेखि नियन्त्रणका प्रयासहरू सुरु गरिएका छन् । फार्ममा अचानक कुखुरा मर्न थालेपछि नमुना संकलन गरी परीक्षणका लागि काठमाडौँस्थित केन्द्रीय प्रयोगशाला पठाइएको थियो । शनिबार प्राप्त रिपोर्टले त्यहाँ घातक प्रकृतिको संक्रमण रहेको पुष्टि गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाकी प्रमुख शीतल भट्टराईले जानकारी दिइन् ।

संक्रमण पुष्टि भएसँगै कोशी प्रदेश सरकारको ‘रेपिड रेस्पोन्स टिम’ आइतबार नै प्रभावित क्षेत्रमा खटिएको छ । प्राविधिक टोलीले फार्मको ‘चार किल्ला’ निर्धारण गरी नष्ट गर्नुपर्ने कुखुराको संख्या र जोखिमको क्षेत्रबारे लगत संकलन गरिरहेको छ । ‘संक्रमण थप फैलिन नदिन प्रभावित फार्मका कुखुरा नष्ट गर्ने तयारी भइरहेको छ,’ प्रमुख भट्टराईले भनिन्, ‘सरकारले नियन्त्रणका क्रममा नष्ट गरिएका पक्षीहरूको क्षतिपूर्ति दिने व्यवस्था गरेकाले किसानलाई केही राहत हुनेछ ।’

दमकमा घातक संक्रमण देखिएकै समयमा झापा गाउँपालिका–७ स्थित सुदीक्षा कृषि फार्ममा पनि बर्डफ्लूको अर्कै प्रजाति फेला परेको छ । स्थानीय कृषक दुर्गाप्रसाद भट्टराईको फार्ममा ‘एचवान लो प्याथोजेनिक’ संक्रमण देखिएको प्राविधिकहरूले बताएका छन् । यो प्रजाति तुलनात्मक रूपमा कम जोखिमपूर्ण मानिने र उपचारबाट निको हुने भएकाले यसलाई गम्भीर रूपमा नलिइएको विज्ञ केन्द्रले जनाएको छ । यद्यपि, न्यून जोखिमयुक्त (लो प्याथोजेनिक) संक्रमण भएका फार्मलाई सरकारले क्षतिपूर्ति नदिने नीतिगत व्यवस्था छ ।

नेपालमा पहिलो पटक २०६५ माघमा झापाकै काँकडभिट्टाबाट बर्डफ्लू भित्रिएको थियो । त्यसबेला करिब २८ हजार कुखुरा नष्ट गरिएको इतिहास छ । त्यसयता २०७८ सालसम्म पटक–पटक देखिएको यो संक्रमण चार वर्षपछि पुनः देखा पर्दा झापाका कुखुरा व्यवसायीहरू चिन्तित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।