विराटनगर । झापाको बुद्धशान्ति गाउँपालिका–४ टिमाईमा घाइते अवस्थामा भेटिएको चितुवालाई नियन्त्रणमा लिने क्रममा सशस्त्र प्रहरी बल नेपालका सुरक्षाकर्मीसहित चार जना घाइते भएका छन्।
जिल्ला प्रहरीका अनुसार आइतबार दिउँसो करिब १ बजे कमल खड्काको मकैबारीमा चितुवा घाइते अवस्थामा देखिएको थियो। त्यसपछि प्रहरी टोलीले डिभिजन वन कार्यालय झापा सँग समन्वय गर्दै नियन्त्रणको प्रयास थालेको थियो।
चितुवालाई सुरक्षित रूपमा नियन्त्रणमा लिन कोशी टप्पु वन्यजन्तु आरक्षण बाट विज्ञ टोली घटनास्थल पुगेको थियो। सो क्रममा चितुवा एक्कासी बिच्किएर सुरक्षामा खटिएका सशस्त्र प्रहरी नायब निरीक्षक केदार श्रेष्ठमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ ।
आक्रमणबाट श्रेष्ठको अनुहार, हातखुट्टा, कान र बायाँ पाखुरालगायत शरीरका विभिन्न भागमा चोट लागेको छ भने उनको अवस्था मध्यम रहेको बताइएको छ। त्यसैगरी चितुवाको आक्रमणबाट बुद्धशान्ति–६ का ५० वर्षीय कृष्ण गजमेर, ५४ वर्षीय दुर्गा बहादुर कटुवाल र मेचीनगर नगरपालिका–१० का २६ वर्षीय विशाल कार्की पनि घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
घाइते चारै जनाको भागीरथा न्यौपाने अस्पताल मा उपचार भइरहेको छ। यसैबीच चितुवाले स्थानीयमाथि आक्रमण गर्न थालेपछि आक्रोशित स्थानीयले कुटपिट गर्दा चितुवाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत चितुवालाई आवश्यक कानुनी प्रक्रिया पूरा गर्न डिभिजन वन कार्यालय झापामा लगिएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।