विराटनगर । नेपालको झापा किसान विद्रोहका एक अगुवा एवं नेकपा (संयुक्त)का वरिष्ठ नेता घनेन्द्र बस्नेत यतिबेला गम्भीर बिरामी परेका छन् । उनलाई फोक्सो र घाँटीको क्यान्सर पुष्टि भएपछि उपचारका लागि घनेन्द्र बस्नेत जीवन रक्षा अभियान मार्फत आर्थिक सहयोगको अपिल गरिएको छ ।
७१ वर्षीय बस्नेतले आफ्नो जीवनको महत्वपूर्ण १७ वर्ष जेलमा बिताएका थिए । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगै झापा विद्रोहमा होमिए पनि ओलीको तुलनामा ३ वर्ष बढी जेल जीवन बिताउनुपर्यो ।
नेता घनश्याम भुसालका अनुसार २०३० सालमा पक्राउ परेका बस्नेतले २०३३ सालको नख्खु जेल ब्रेक मा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । केपी ओली र आरके मैनालीहरू १४ वर्षमा छुट्दा बस्नेत र उनीसँगैका अन्य केही नेताहरू भने १७ वर्षपछि मात्र जेलमुक्त भएका थिए । सामान्य किसान परिवारमा जन्मिएका बस्नेतको आर्थिक अवस्था निकै कमजोर भएकाले आफ्नै खर्चमा उपचार गर्न असम्भव देखिएपछि सहयोद्धा र शुभचिन्तकहरूले चन्दा संकलन अभियान सुरु गरेका हुन् ।
बस्नेतको जीवन रक्षाका लागि नेता घनश्याम भुसालको संयोजकत्वमा टंकप्रसाद कार्की, नरेश खरेल, डा.नारद भारद्वाज र सञ्जीव रोकाहा सदस्य रहेको एक समन्वय समिति गठन गरिएको छ । भुसालका अनुसार २००९ सालमा भोजपुरमा जन्मेका बस्नेत २०४८ मा संखुवासभा र २०५६ मा भोजपुरबाट सांसद समेत निर्वाचित भएका थिए । उनी भूमिसुधार आयोगको सदस्य समेत रहेका थिए ।
राजनीतिक यात्रामा सधैँ निष्ठावान र सक्रिय रहेका बस्नेतलाई बचाउनु सबैको दायित्व भएको भन्दै अभियानले सहयोगका लागि अपिल गरेको छ ।





प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।