लोड हुँदैछ...

मेनु

खस्किए पहिचानवादी, अब के होला पहिचानको आन्दोलन ?

खस्किए पहिचानवादी, अब के होला पहिचानको आन्दोलन ?

विराटनगर । प्रदेशको नाम कोशी नामकरण गरेपछि चर्किएको पूर्वको पहिचानको आन्दोलन नयाँ जनादेशपछि अन्यौलमा फसेको छ । तर, पहिचानको आन्दोलन समाप्त भने नभएको अभियानकर्मीहरू बताउँछन् । कोशी प्रदेशका पहिचानवादी नेताहरूले हर्क साम्पाङले अब पहिचानको आन्दोलनको नेतृत्व गर्नसक्ने भन्दै पहल सुरु गरेका छन् ।

तर, साम्पाङले आफ्नो पार्टी श्रम संस्कृति पार्टी क्षेत्रीय पार्टी नबन्ने भन्दै देशव्यापी अभियान सुरु गरेका छन् । केही दिन अगाडि आफ्नो पार्टीबाट निर्वाचित सांसदलाई बधाई तथा शुभकामना दिन आयोजित एक कार्यक्रममा साम्पाङले स्पष्ट रुपमा क्षेत्रीय पार्टी नबन्ने बताएका थिए । ‘हामीले कोशीबाटै ३ जना प्रत्यक्षमा जित्यौं । समानुपातिकमा पाएको ४ जना सिटमध्ये एक जना जनकपुरबाट र एक जना सुर्खेतबाट पठायौं । कोशीबाट मत धेरै आयो भन्दैमा यहाँबाटै दिने हो भने त्यो पार्टी त क्षेत्रीय भइगयो नि,’ उनले भनेका थिए ।

प्रदेशको नाम कोशी नामकरण गरेपछि भएको इलामको प्रतिनिधिसभा उपनिर्वाचनमा भने साम्पाङले पहिचानवादी नेता डकेन्द्रसिंह थेगिमको समर्थनमा निर्वाचन क्षेत्रमै पुगेर भाषण गरेका थिए । त्यसबेला थेगिमले झण्डै ११ हजार मत ल्याएका थिए । तर, यो निर्वाचनमा कोशी प्रदेशमा पहिचानवादी भनेर चिनिएका पार्टीहरुको अवस्था कमजोर देखिएको छ । तर, हर्क साम्पाङको पार्टी श्रम संस्कृति पार्टी एकाएक उदाएर आएको छ ।

कोशी प्रदेशको समानुपातिकतर्फको मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ८ लाख ५३ हजार १८३ मत पाउँदा श्रम संस्कृति पार्टीले २ लाख ९२ हजार ४९ मत पाएको छ । नेपाली काँग्रेस २ लाख ९० हजार ५६२ मतसहित तेस्रो बन्दा नेकपा (एमाले) २ लाख ८८ हजार १८६ मतसहित चौथो शक्ति बनेको छ ।

अघिल्लो निर्वाचनमा पाँचौं स्थानमै रहेको नेपाली कम्युनिष्ट पार्टी यस पटक पनि पाँचौं नै बनेको छ । नेपाली कम्युनिष्ट पार्टीले यसपटक ९७ हजार ६७९ मत पाएको छ भने यसअघि चौथो शक्तिको रुपमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने ६२ हजार ८२९ मतसहित छैटौं बनेको छ ।

यस निर्वाचनमा श्रम संस्कृति पार्टीको उदय सबैको लागि चासोको विषय बनेको छ । कसैले अनुमान नगरेको यो नयाँ दलले पहिलो प्रयासमै २ लाख ९२ हजार ४९ मत प्राप्त गरी कांग्रेस र एमाले जस्ता पुराना र स्थापित दललाई पछि पार्दै प्रदेशकै दोस्रो ठूलो दल बन्न सफल भएको छ ।

मत परिणामको अर्को पाटो पनि छ । यस पटक कोशी प्रदेशमा पहिचानवादीको नाममा खुलेका पार्टीको मत भने लज्जास्पद छ । जनता समाजवादी पार्टी नेपाल पनि आफूलाई पहिचानवादी भन्छ । उक्त दलले जम्मा समानुपातिक मत १३ हजार ८४० पाएको छ । यस्तै यसअघि झण्डै ५० हजार मत ल्याउने मंगोल नेशनल अर्गनाइजेशनले यस पटक ८ हजार ७५४ मत ल्याएको छ ।

नागरिक उन्मुक्ति पार्टीले ५ हजार ७८१ ल्याउँदा पूर्वमा लिम्बूवान आन्दोलनबाटै आएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले भने ३ हजार ५१६ मत मात्रै ल्याएको छ । २०७४ सालमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले प्रतिनिधिसभातर्फ समानुपातिकमा २० हजार ६१० मत ल्याएको थियो भने प्रदेशसभातर्फ कोशीमा २६ हजार १२३ मत ल्याएको थियो । यस्तै २०७९ सालमा मञ्चले प्रतिनिधिसभातर्फ १७ हजार ७९५ मत पाउँदा प्रदेशसभातर्फ भने २६ हजार २४२ मत ल्याएको थियो ।

२०७४ सालमा तत्कालिन संघीय समाजवादी फोरमले कोशी प्रदेशबाट ७० हजार ४७६ मत ल्याएको थियो भने परिवर्तित नाम जनता समाजवादी पार्टीले २०७९ सालमा ५९ हजार ४८५ मत ल्याएको थियो ।

जनमतबाट पहिचानको आन्दोलन बेवास्तामा परेको हो कि नयाँ पार्टीले पहिचानको मुद्दा बोक्ने भएर हो भन्ने विषय अहिले कोशीमा बहसमा छ । पहिचानवादी नेता डकेन्द्र सिंह थेगिमले चुनावको नतिजाले मात्र पहिचानको आन्दोलनलाई रोक्न नसक्ने बताउँछन् । आन्दोलनको स्वरूप र आगामी रणनीतिका विषयमा नेतृत्व तहमा निरन्तर छलफल भइरहेको उनले जानकारी दिए ।

‘यो पहिचानको आन्दोलन स्थगित भएको पनि होइन, रोकिएको पनि होइन । यसले एकछिन अब यहाँ आन्दोलनका कार्यक्रमहरु अहिले घोषणा भइसकेको छैन, अब हामी कसरी अघि बढ्ने भन्ने विषयमा नेतृत्व साथीहरुसँग छलफल गरिराखेका छौँ । यो निरन्तर चलिरहन्छ,’ उनले भने ।

पछिल्लो समय जनमत रास्वपा (घण्टी) र हर्क साम्पाङतिर गएको हो कि भन्ने प्रश्नमा थेगिमले पहाडी क्षेत्रमा घण्टीको खासै प्रभाव नरहेको दाबी गरे । उनले अघिल्लो स्वतन्त्र उम्मेदवारीको समयमा हर्क साम्पाङले आफूहरूलाई सहयोग गरेको स्मरण गर्दै श्रम संस्कृति पार्टीसँग सहकार्य गर्न सकिने तर त्यसका लागि शर्त रहेको खुलाए ।

‘हामीले के भनिराखेका छौँ भने श्रम संस्कृति पार्टीले पहिचानको मुद्दा बोक्नुपर्यो… मतदान गर्ने मतदाताहरुले श्रम संस्कृति पार्टीले पहिचानको मुद्दा प्रष्ट रुपमा उठाउँछ भने हामी साथ दिन्छौँ भन्ने आशा गरेको छ । यदि प्रष्ट पहिचान र अधिकारको कुरा, कोशी नो कोशीको कुरा उठायेन भने फेरि पनि विचार गर्नुपर्ने हुन्छ भन्ने पक्षमा नै रहेको छ,’ थेगिमले भने । निर्वाचनपछि हर्क साम्पाङ पक्षसँग प्रत्यक्ष भेटघाट नभए पनि टेलिफोन र नजिकका मान्छेहरूमार्फत संवाद भइरहेको उनले बताए ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले निर्वाचनमा कमजोर नतिजा आएको स्वीकार गरे पनि आन्दोलन कमजोर नभएको दाबी गरे । चुनाव र आन्दोलन सँगसँगै जाने भएकाले कोर कार्यकर्ताहरूको मनोबल नखस्केको उनको भनाइ छ । ‘हामीले सुरुमै कसरी कन्भिन्स गर्दै आएको छौँ भने चुनाव र आन्दोलन सँगसँगै जान्छ है… चुनाव ५० प्रतिशत हो, आन्दोलन ५० प्रतिशत हो । त्यसले गर्दा हाम्रा कोर कार्यकर्ताहरुको मन अलिकति पनि खस्केको छैन,’ लिङ्देनले भने ।
विगतमा एमाले र कांग्रेसले आफूहरूलाई नराम्ररी पेलेको र अहिले नयाँ शक्तिहरू उदाएको सन्दर्भलाई उनले राजनीतिक विज्ञानको सिद्धान्तसँग जोडेर व्याख्या गरे । कम्युनिष्टहरूले सामन्तवादबाट पुँजीवादमा जाने बाटो छेकेर समाजवादको भ्रम छरेको उनको आरोप छ ।

‘सामन्तवाद पछि पुँजीवाद, पुँजीवाद पछि मात्रै साम्यवाद आउँछ भन्थ्यो नि त… तर एमालेले के गर्दियो भन्दा सामन्तवाद पछि पुँजीवादमा जानै नदिई कम्युनिष्टले समाजवाद समाजवाद भन्दै बसे नि त । त्यसले गर्दा देश विभिन्न खालको आन्दोलन अगाडि जान सकेन के,’ उनले भने ।

हर्क साम्पाङ, बालेन शाह र रवि लामिछाने जस्ता नेताहरूलाई उनले पियोर पुँजीवादीको संज्ञा दिए । नयाँ शक्तिहरूप्रति जनता आकर्षित हुनुको कारण खोतल्दै लिङ्देनले पुराना पार्टीहरूभन्दा नयाँ अनुहारहरू पहिचान र संस्कृतिको सवालमा अलि ‘खुकुलो र उत्तरदायी’ देखिएको विश्लेषण गरे । ‘पुराना शक्तिहरु भन्दा नयाँ शक्तिहरु केही खुकुलो नै छन् कि पहिचानको सवालमा भन्ने मान्छेहरुलाई लाग्यो,’ उनले भने, ‘बालेन शाहले उता आएर मुक्कुमलुङ भने, यता आएर जय खुवालुङ भने… रविले राई लिम्बूहरु समेट्न नसकेको भन्दै सरी फेरि गर्छु भने । यसले सुन्दै नसुन्ने एमालेहरु भन्दा त बोल्यो नि त । त्यो पनि एउटा रेस्पोन्स त हो नि त । नयाँ शक्तिहरुले अलिकति उठेको कुराहरुलाई रेस्पोन्स चाहिँ दिँदो रहेछ भन्ने पनि भयो ।’

उता, हर्क साम्पाङ नेतृत्वको नवगठित ‘श्रम संस्कृति पार्टी’ का प्रवक्ता सत्य घलेले आफ्नो पार्टी संस्कृतिवादी भएको बताउँदै सबैको पहिचान र संस्कृतिलाई स्वीकार गर्ने स्पष्ट पारे । पहिचानको आन्दोलनलाई आफ्नो पार्टीको सपोर्ट रहने कि नरहने भन्ने प्रश्नमा उनले सबैको संस्कृतिको संरक्षण गर्ने बताए । ‘हामी संस्कृतिवादी हो, सबैको संस्कृतिलाई हामीले सम्मान गर्ने हो । केवलकार बनाउने विषयमा होस् या कोशी नामकरणको सन्दर्भमा होस् हामी स्थानीयहरुलाई बाइपास गरेर गर्नुहुँदैन भन्ने पक्षमा छौं । जनता मारेर चाहिँ बनाउनु हुँदैन भन्ने हाम्रो धारणा हो,’ घलेले भने, ‘हामी क्षेत्रीय कुरा मात्र गर्दैनौं, सबै कुरा समेट्ने प्रयास गर्छौं । हामी संस्कृतिवादी हो, सबैको पहिचानलाई स्वीकार गर्छौं ।’

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।