विराटनगर । नेपाल बैंक लिमिटेड, सिटी अफिस शाखाले विराटनगरस्थित त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर क्याम्पसमा स्मार्ट मनी टक नाराका साथ एक दिवसीय वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको यस कार्यक्रममा डिजिटल बैंकिङ र वित्तीय व्यवस्थापनका विषयमा जानकारी प्रदान गरिएको थियो ।
नेपाल बैंक लिमिटेड सिटी अफिसका शाखा प्रबन्धक सुनिता विष्टको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा क्याम्पसका सहायक क्याम्पस प्रमुख रुद्र पोखरेल प्रमुख अतिथिका रूपमा थिए । त्यस्तै, विशिष्ट अतिथिका रूपमा व्यवस्थापन विभागका प्रमुख राजप्रसाद रौनियारको उपस्थिति रहेको थियो । कार्यक्रममा क्याम्पसका प्राध्यापकहरू जैबेन्द्र झा, एके दास, जहि पटेल र रन्जन ठाकुर लगायतको समेत सहभागिता थियो ।
सन् २०१२ देखि ओइसिडीको संयोजनमा विश्वभर मनाइँदै आएको ग्लोबल मनी विकको सन्दर्भ पारेर बैंकले यो कार्यक्रम आयोजना गरेको हो । बैंकले आफ्नो १४ औँ श्रृंखलाको रूपमा स्मार्ट मनी टक मार्फत युवा तथा विद्यार्थी वर्गमा वित्तीय पहुँच र चेतना अभिवृद्धि गर्ने उद्देश्य राखेको छ ।
कार्यक्रमको सञ्चालन तथा मुख्य स्रोत व्यक्तिका रूपमा बैंकका सहायक प्रबन्धक शिव श्रेष्ठले भूमिका निर्वाह गरेका थिए । सो क्रममा उनले डिजिटल बैंकिङका फाइदा, सुरक्षाका उपाय र आधुनिक बैंकिङ प्रणालीका बारेमा विद्यार्थीहरूलाई जानकारी गराएका थिए ।
नेपाल बैंकले देशका विभिन्न स्थानमा युवा र विद्यार्थी लक्षित यस्ता साक्षरता कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको जानकारी समेत गराएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।