लोड हुँदैछ...

मेनु

कोइला र डिजेलको मूल्यवृद्धिको असरः

एउटा इँटाको मूल्य २४ रुपैयाँ पुग्यो

एउटा इँटाको मूल्य २४ रुपैयाँ पुग्यो

विराटनगर । अन्तर्राष्ट्रिय बजारमा इन्धन र कोइलाको मूल्यमा भएको अत्यधिक वृद्धिसँगै नेपालमा इँटाको मूल्य ह्वात्तै बढेको छ । निर्माण कार्यको मुख्य सामग्री मानिने इँटाको भाउ बढेपछि अहिले घर बनाउने तयारीमा रहेका सर्वसाधारण र निर्माण व्यवसायीहरू प्रत्यक्ष मारमा परेका छन् । पछिल्लो समय डिजेल र पत्थर कोइलाको मूल्यमा भएको वृद्धिका कारण इँटाको लागत महँगो पर्न गएको व्यवसायीहरूको भनाइ छ ।

सरकारले डिजेलको मूल्य प्रतिलिटरमा १२ रुपैयाँले वृद्धि गरेपछि इँटाको ढुवानी भाडामा प्रत्यक्ष असर परेको छ । इँटा उद्योगबाट निर्माणस्थलसम्म पु¥याउँदा लाग्ने ढुवानी खर्च बढेपछि उद्योगीहरूले प्रतिगोटा इँटामा दुईदेखि तीन रुपैयाँसम्म मूल्य बढाएका छन् । सुनसरी र मोरङ क्षेत्रका उद्योगहरूले त सूचना नै जारी गरेर नयाँ मूल्य सार्वजनिक गरिसकेका छन् ।

सुनसरीको दुहबीमा रहेको एबी ब्रिक्स एन्ड टायल इन्डस्ट्रिजले १ नम्बर इँटाको मूल्य प्रतिगोटा २४ रुपैयाँ कायम गरेको जनाएको छ । उद्योगीहरूका अनुसार ढुवानी गर्न इन्धनको मूल्य बढेका कारण मूल्य बढाउनु परेको हो । इँटा व्यवसायी महासंघका सचिव महेन्द्र साहले २२ रुपैयाँमा बिक्री गरिरहेको इँटा ढुवानी र इन्धनको मूल्यमा वृद्धि भएकै कारण बढाएर २४ रुपैयाँमा बेच्नु परेको जानकारी दिए । यद्यपि मूल्य वृद्धिको संस्थागत निर्णय भने नभएको र कम्पनीहरुले लागत अनुसार मूल्य निर्धारण गरेको उनले बताए ।

मूल्य बढ्नुको अर्को मुख्य कारण पत्थर कोइलाको मूल्य वृद्धि पनि रहेको उनले बताए । नेपाल इँटा उद्योग व्यवसायी महासंघका सचिव महेन्द्र साहका अनुसार इँटा पोल्न प्रयोग गरिने कोइलाको मूल्य असोज महिनासम्म प्रतिटन ३३ रुपियाँ थियो । अहिलेसम्म असोजमा खोलिएको एलसीबाट आएको कोइलाले काम चलिरहेकोमा आजभोलि खोलिने एलसीमा प्रतिटन ३३ हजारबाट बढेर ४४ हजार रुपैयाँसम्म पुगेको छ । यसरी कोइलाको मूल्यमा प्रतिटन १२ हजार रुपियाँले वृद्धि हुँदा इँटा उत्पादनको लागत बढेको व्यवसायीहरुको भनाइ छ ।

इन्धन र कोइलाको मार खेपिरहेका उद्योगीहरूलाई हालै भएको बेमौसमी वर्षाले थप ठूलो आर्थिक क्षति पु¥याएको छ । खुला आकाशमुनि सुकाइएका काँचो इँटाहरू पानीले भिजेर नष्ट भएका छन् । सचिव साहका अनुसार औसतमा एउटा उद्योगको करिब ५ लाख गोटा काँचो इँटा पानीले गलेर माटोमा परिणत भएको छ । सुनसरी र मोरङ क्षेत्रका करिब ४१ ओटा उद्योगहरूमा गरी झण्डै २ करोड गोटा इँटा नष्ट भएको अनुमान गरिएको छ । एउटा काँचो इँटा तयार गर्न माटो र श्रम गरी करिब ४ रुपैयाँ लागत लाग्ने उहाँले जानकारी दिनुभयो । यसरी हेर्दा एउटै उद्योगलाई २० लाखदेखि ४० लाख रुपैयाँसम्मको प्रत्यक्ष घाटा भएको छ ।

इँटाको मूल्य बढेपछि यसले समग्र निर्माण क्षेत्रलाई नै सुस्त बनाउने जोखिम बढेको छ । कोइला, डिजेल र कच्चा पदार्थको मूल्य मात्र होइन, बजार महँगो भएपछि इँटा भट्टामा काम गर्ने श्रमिकहरूले पनि ज्याला बढाउन दबाब दिइरहेका छन् ।

लागत खर्च बढ्ने तर बजारमा उत्पादित इँटाको उचित मूल्य नपाउने हो भने उद्योगहरू नै बन्द गर्नुपर्ने अवस्था आउन सक्ने व्यवसायीहरू बताउँछन् । इँटाको गुणस्तर अनुसार मूल्य फरक–फरक भए पनि उत्पादनमा लाग्ने स्थिर खर्च एउटै हुने भएकाले कमसल इँटा बिक्री गर्दा उद्योगलाई झन् ठूलो नोक्सानी हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।