खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा केही दिनअघि भएको हेलिकोप्टर दुर्घटनामा स्थानीयवासीले देखाएको साहसिक उद्धार गर्दा मानवीय क्षति हुन पाएन । दुर्घटनापछि जोखिमपूर्ण अवस्थाबीच स्थानीयले च्यापिएका यात्रुलाई जीवितै बाहिर निकालेका थिए।
भूपू युके लाहुरे डाकमणि राईकी श्रीमती मनलक्ष्मीको मृत्यु भएपछि शव गाउँमै ल्याएर अन्तिम संस्कार गर्ने तयारी थियो। सोही क्रममा डाकमणि आफ्ना छोराछोरी र आफन्तसहित हेलिकोप्टरमार्फत गाउँ आउँदै थिए। घरनजिकैको बारीमा हेलिकोप्टर अवतरणका लागि सेतो रङले ‘एच’ लेखेर स्थान तयार पारिएको थियो। आफन्त र छरछिमेकका मानिसहरू पनि अवतरणस्थल वरिपरि भेला भएका थिए।
दिउँसो करिब १२ बजेतिर हेलिकोप्टर अवतरण गर्ने क्रममा जमिन छोइसकेपछि अचानक असन्तुलित भई उछिट्टिएको थियो। तल्लो गरामा अवतरण गर्न लागेको हेलिकोप्टर माथिल्लो गरातर्फ पुगेर क्षतिग्रस्त भएको थियो। पंखा नजिकैको रूखमा ठोक्किँदा भाँचिएर हेलिकोप्टर घोप्टो परेर अडिएको अवस्थामा थियो।
हेलिकोप्टरमा आगो नउठेका कारण पाइलट र सबै यात्रुको जीवन जोगिएको खार्ताम्ताका वडाध्यक्ष मिलन राईले बताए ।
दुर्घटनापछि पाइलट सविन थापा, डाकमणि राई, उनका छोरा बालकुमार राई, छोरी लक्ष्मी राई र आफन्त समला राई भने सिटबेल्ट खोलेर सहजै बाहिर निस्किएका थिए। तर, पास्टर काजीबहादुर राई भने हेलिकोप्टरभित्र च्यापिएका थिए।
उक्त अवस्थामा स्थानीयवासीले ज्यानको जोखिम मोलेर उनको उद्धार गरेका थिए। प्रत्यक्षदर्शीका अनुसार करिब १५ देखि २० जना स्थानीय मिलेर क्षतिग्रस्त हेलिकोप्टर उठाउँदै च्यापिएका काजीबहादुर राईलाई बाहिर निकालेका थिए। घटनास्थलमा धुवाँ निस्किरहेको र जुनसुकै बेला आगलागी वा विस्फोट हुनसक्ने खतरा हुँदाहुँदै पनि स्थानीयले उद्धार कार्य रोकेनन्।
बारीको डिल छेउमा ल्याण्ड भएको हेलिकप्टर पाइलटले अलि भित्तातिर सार्न खोज्दा उछिट्टिएको प्रत्यक्षदर्शी प्रकाश राई बताउँछन् । ‘हामी भण्डै बेहोसको अवस्थामा थियौं । त्यो अवस्थाको हेलिकोप्टर ब्लाष्ट हुने खतरा हुँदोरहेछ, तर मान्छे बचाउन हेलीलाई उचाल्यौं’ राईले भने, ‘साइलेन्सरको भागबाट धुवाँ निस्किरहेको थियो । पाइलटले इन्जिन बन्द गरेछन् र आगो बल्न पाएनछ ।’
स्थानीयका अनुसार पाइलटले समयमै इन्जिन बन्द गरेका कारण हेलिकोप्टरमा आगलागी हुन पाएन र ठूलो दुर्घटना टर्यो। उद्धारपछि घाइते बनेका पाइलट थापा र काजीबहादुर राईलाई तत्कालै अर्को हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको थियो।
हेलिकोप्टरमा ल्याउन खोजिएको मनलक्ष्मीको शव भने कफिन नअटेका कारण एम्बुलेन्समार्फत गाउँ पुर्याइएको थियो। दुर्घटनापछि परिवारले अन्तिम संस्कार सम्पन्न गरिसकेको छ।
घटनापछि केही समय स्थानीय क्षेत्रमा त्रासको अवस्था सिर्जना भएको थियो। हाल क्षतिग्रस्त हेलिकोप्टरलाई त्रिपालले ढाकेर राखिएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।