विराटनगर । नेपालकै पहिलो प्राविधिक विश्वविद्यालय, मनमोहन प्राविधिक विश्वविद्यालयले धनकुटामा ३ सय बेडको विशिष्ट स्वास्थ्य सेवा उपलब्ध गराउने योजना अघि सारेको छ ।
मोरङको बुढीगंगास्थित यो विश्वविद्यालयको साझेदारीमा धनकुटा जिल्ला अस्पताललाई शिक्षण अस्पताल (टिचिङ हस्पिटल) का रूपमा विकास गर्न शनिबार विस्तृत छलफल गरिएको हो ।
जिल्ला अस्पतालको स्तरवृद्धि गरी विशेषज्ञ सेवा प्रदान गर्ने उद्देश्यले अघि सारिएको यो योजनाका लागि ३ सय रोपनी जग्गा र करिब ८ अर्ब रुपैयाँ बजेट आवश्यक पर्ने विश्वविद्यालयका उपकुलपति सुवास श्री पोखरेलले जानकारी दिए । योजनाअनुसार काम अघि बढेमा आर्थिक वर्ष २०८३/०८४ देखि नै सेवा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।
प्रस्तावित शिक्षण अस्पतालमा मुटुरोग, न्युरो, बाल रोग, स्त्री रोग लगायतका विशिष्ट विशेषज्ञ सेवाहरू उपलब्ध हुनेछन् । शनिबार आयोजित बृहत् छलफल कार्यक्रममा सहभागीहरूले अस्पतालको पुरानो पहिचानलाई कायम राख्दै शिक्षण अस्पतालका रूपमा विकास गरिनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्रमणि पराजुलीले धनकुटासहित पूर्वी पहाडी जिल्लाका नागरिकलाई विशिष्ट स्वास्थ्य सेवा पुर्याउन यो आयोजना कोसेढुङ्गा सावित हुने बताए । उनले यसको कार्यान्वयनका लागि सरकारको साथ रहने प्रतिबद्धता समेत व्यक्त गरे ।
छलफलमा प्रदेशसभा सदस्यहरू निरन राई, इन्दिरा थापा, अस्पताल विकास समितिका संयोजक निरेन तामाङ लगायत राजनीतिक दलका प्रतिनिधि र सञ्चारकर्मीहरूले यो योजनाले धनकुटाको समग्र विकास र स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका थिए ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।