विराटनगर । अन्तर्राष्ट्रिय स्तरमा देखिएको तनाव र छिमेकी मुलुकबाट हुने आपूर्तिमा आएको अवरोधका कारण नेपाली उद्योगहरू संकटमा पर्न थालेको भन्दै व्यवसायीहरुले संस्थागत रुपमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
उद्योगमा आपुर्ति हुँदै आएको कतिपय कच्चा पदार्थको आयात सीमित हुँदै गएको भन्दै विराटनगरको एक उद्योग वाणिज्य संघले उद्योग विभागलाई पत्र पठाएको छ । कच्चा पदार्थको अभावका कारण उद्योगहरू बन्द हुने अवस्थामा पुगेको जानकारी गराउँदै तत्काल समस्या समाधानको पहल गरिदिन मागसमेत गरिएको छ ।
विशेषगरी अमेरिका र इरानबीचको द्वन्द्व तथा अन्य अन्तर्राष्ट्रिय प्रभावका कारण भारतबाट नेपालतर्फ हुने ग्यास, प्लास्टिक, कार्बन, रबर लगायतका पेट्रोलियम पदार्थको आपूर्ति अवरुद्ध र सीमित भएको भन्दै कच्चा पदार्थ आयात बढाउन कुटनीतिक पहल गरी सहजीकरण गर्न आग्रह गरेको हो ।
पत्रमा भनिएको छ, “नेपालका अधिकांश उद्योगहरू भारत तथा तेस्रो मुलुकबाट आयात गरिने कच्चा पदार्थमा आधारित रहेका छन् । हालको परिस्थितिले उद्योगहरूको उत्पादन र सञ्चालनमा गम्भीर असर पारेको छ । यस्तो अवस्था निरन्तर रहेमा उद्योगहरू अस्थायी रूपमा बन्द गर्नुपर्ने र श्रमिकहरूको कार्य अवधिमा समेत प्रत्यक्ष असर पर्ने सम्भावना छ ।”
उद्योग क्षेत्र राष्ट्रको आर्थिक विकास, रोजगारी र राजस्वको मुख्य आधार भएको उल्लेख गर्दै विद्यमान प्रतिकूल परिस्थितिलाई सम्बोधन गर्न सरकारसँग तीन बुँदे माग अगाडि सारेको छ । उसले भारत सरकारसँग आवश्यक कूटनीतिक पहल गरी ग्यास, प्लास्टिक, कार्बन, रबर लगायतका कच्चा पदार्थको निर्वाध आपूर्तिको व्यवस्था मिलाउन, भारत तथा तेस्रो मुलुकबाट आयात गरिने कच्चा पदार्थको आपूर्तिमा देखिएका प्रशासनिक र कूटनीतिक अड्चनहरू हटाउन र कच्चा पदार्थको अभावले उद्योग सञ्चालन हुन नसकी उत्पादन बन्द गर्नुपर्ने अवस्था आएमा, त्यहाँ कार्यरत कामदारहरूलाई ‘बेतलबी विदा’ दिन सकिने गरी आवश्यक नीतिगत व्यवस्था मिलाउन सरकारसँग माग गरेको हो ।
संघले उद्योगको निरन्तर सञ्चालन र औद्योगिक वातावरणलाई स्थिर राख्न श्रम विभाग लगायतका सम्बन्धित निकायहरूसँग समन्वय गरी उचित पहल गरिदिन विभागलाई आग्रह गरेको छ । संघले नेपाल उद्योग वाणिज्य महासंघलाई समेत पछिल्लो अवस्था र मागको बारेमा बोधार्थमार्फत जानकारी दिएको छ । विराटनगरमा चार ओटा उद्योग वाणिज्य संघहरु क्रियाशील छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।