पोखरा । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजासँगै गण्डकी प्रदेशमा ठूलो राजनीतिक फेरबदल देखिएको छ । प्रदेशका कुल १८ निर्वाचन क्षेत्रमध्ये १५ वटामा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले ऐतिहासिक जित हासिल गर्दा स्थापित ठूला दलहरू र विशेषगरी कम्युनिष्ट शक्तिहरू निल भएका छन् । यस निर्वाचनमा नेकपा एमाले र नेकपा ९माओवादी केन्द्र लगायतका कम्युनिष्ट घटक० ले गण्डकीबाट एक सिट पनि जित्न सकेनन् । २०७९ को निर्वाचनमा एमालेले ५ र नेकपाले २ क्षेत्र जितेकोमा यसपटक दुवै दलको उपस्थिति शून्य भएको छ । अघिल्लो निर्वाचनमा १० सिट जितेको नेपाली कांग्रेस पनि यसपटक मात्र २ सिटमा खुम्चिएको छ । त्यस्तै, बागलुङ–१ मा अघिल्लो पटक विजयी भएको राष्ट्रिय जनमोर्चाका उम्मेदवारको यसपालि जमानत नै जफत भएको छ ।
रास्वपाले म्याग्दी, मुस्ताङ र मनाङ बाहेकका सबै १५ निर्वाचन क्षेत्रमा विजयको झण्डा गाडेको छ । प्रदेश राजधानी रहेको कास्कीका तीनवटै क्षेत्रसहित अधिकांश जिल्लामा रास्वपाका उम्मेदवारहरू निर्वाचित भएका छन् । रास्वपाबाट कास्की–१ मा खड्कराज पौडेल, कास्की–२ मा उत्तमप्रसाद पौडेल र कास्की–३ मा बिना गुरुङ विजयी बनेका छन् । बागलुङका दुवै क्षेत्रमा पनि रास्वपाकै उम्मेदवार विजयी भए, जहाँ बागलुङ–१ मा सुशील खड्का र बागलुङ–२ मा सोम शर्मा निर्वाचित भए । स्याङ्जाका दुवै क्षेत्रमा रास्वपाका धनञ्जय रेग्मी र झविलाल डुम्रेले जित हासिल गरे । तनहुँका दुवै क्षेत्रमा पनि रास्वपाकै उम्मेदवार विजयी भए, जहाँ क्षेत्र नं। १ मा डा। स्वर्णिम वाग्ले र क्षेत्र नं। २ मा श्रीराम न्यौपाने निर्वाचित भएका छन् ।
यसैगरी, नवलपुर–१ मा रास्वपाका राजन गौतम र नवलपुर–२ मा मनिष खनाल विजयी बनेका छन् । लमजुङमा रास्वपाका उम्मेदवार धर्मराज केसी र पर्वतबाट रास्वपाकै सागर भुसालले संसदीय यात्रा तय गरेका छन् । गोरखाका दुवै क्षेत्रमा पनि रास्वपाले जित निकालेको छ, जहाँ गोरखा–१ मा सुधन गुरुङ र गोरखा–२ मा कविन्द्र बुर्लाकोटी विजयी भए । रास्वपाको यो लहरका बीच नेपाली कांग्रेसले हिमाली जिल्लाहरूमा आफ्नो साख जोगाएको छ । मुस्ताङबाट योगेश गौचन थकाली र मनाङबाट टेकबहादुर गुरुङ पुनः संसद् छिर्न सफल भएका छन् । यस्तै, म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनले जित निकाल्दै संसदीय यात्रा तय गरेका छन् । गण्डकी प्रदेशमा देखिएको यो नतिजाले परम्परागत राजनीतिक शक्तिहरूलाई ठूलो धक्का दिएको छ भने रास्वपालाई मुख्य शक्तिको रूपमा स्थापित गरिदिएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।