लोड हुँदैछ...

मेनु

समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, तीन प्रदेशमा गणना सम्पन्न

समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, तीन प्रदेशमा गणना सम्पन्न

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार देशभरका अधिकांश जिल्लाहरूमा मतगणना सम्पन्न भइसकेको छ भने अब केही सीमित क्षेत्रको मात्र नतिजा आउन बाँकी छ ।

आयोगका अनुसार बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा समानुपातिकतर्फको मतगणना पूर्ण रूपमा सम्पन्न भइसकेको छ । काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाहरू (काठमाडौँ, ललितपुर र भक्तपुर) का सबै निर्वाचन क्षेत्रको गणना सकिएको छ । यस्तै, बागमती प्रदेशका रसुवा, सिन्धुली, दोलखा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, रामेछाप, काभ्रे र सिन्धुपाल्चोकमा पनि गणना कार्य टुङ्गिएको छ ।

कर्णाली प्रदेशका दैलेख, सुर्खेत, जुम्ला र हुम्लासहित सबै १० जिल्ला र सुदूरपश्चिमका कञ्चनपुर, कैलाली र डडेल्धुरासहित सबै ९ वटै जिल्लाको अन्तिम नतिजा प्राप्त भइसकेको आयोगले जनाएको छ ।

हाल केही प्रदेशका सीमित क्षेत्रहरूमा मात्र गणना जारी रहेको छ । कोशी प्रदेशको इलाम क्षेत्र नम्बर १, सुनसरी क्षेत्र नम्बर २ र भोजपुर क्षेत्र नम्बर १ मा अहिले गणना भइरहेको छ । कोशीकै ताप्लेजुङ, पाँचथर, झापा, मोरङ र उदयपुरमा भने गणना कार्य सम्पन्न भइसकेको छ ।

मधेश प्रदेशमा धनुषा क्षेत्र नम्बर १ र २, महोत्तरी क्षेत्र नम्बर ४ र सप्तरी क्षेत्र नम्बर १ मा गणना सुचारु रहेको छ भने अन्य अधिकांश क्षेत्रको नतिजा आइसकेको छ ।

यसैगरी, गण्डकी प्रदेशको गोरखा क्षेत्र नम्बर १ र २ मा गणना जारी रहँदा पर्वत, तनहुँ, कास्की, मुस्ताङ र स्याङ्जा लगायतका जिल्लाको गणना सकिएको छ । लुम्बिनी प्रदेशमा बर्दिया क्षेत्र नम्बर २ र नवलपरासी पश्चिम क्षेत्र नम्बर १ मा मात्र गणना हुन बाँकी छ । लुम्बिनीका अन्य जिल्लाहरू दाङ, बाँके, रुपन्देही, पाल्पा र गुल्मीमा गणना कार्य पूर्ण रूपमा सम्पन्न भइसकेको छ ।

गणना हुन बाँकी रहेका क्षेत्रहरूको नतिजा पनि चाँडै प्राप्त हुने र त्यसपछि आयोगले दलहरूले प्राप्त गरेको कुल सिट सङ्ख्या सार्वजनिक गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।