लोड हुँदैछ...

मेनु

प्रतिनिधिसभा निर्वाचनका लागि आज मतदान हुँदै १ करोड ८९ लाख मतदाता सहभागी हुने

प्रतिनिधिसभा निर्वाचनका लागि आज मतदान हुँदै १ करोड ८९ लाख मतदाता सहभागी हुने

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज देशभर ७७ वटै जिल्लामा एकै चरणमा मतदान हुँदैछ । निर्वाचन आयोगका अनुसार बिहान ७ बजेदेखि सुरु हुने मतदान अपराह्न ५ बजेसम्म जारी रहनेछ । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि प्रतिनिधिसभाका लागि हुन लागेको यो तेस्रो निर्वाचन हो । यसअघि २०७४ र २०७९ सालमा आम निर्वाचन सम्पन्न भइसकेका छन् ।

यस निर्वाचनमा ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली’ (प्रत्यक्ष) तर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि प्रतिस्पर्धा भइरहेको छ । प्रत्यक्षतर्फ ३ हजार १७ पुरुष, ३८८ महिला र १ अन्य गरी कुल ३ हजार ४०६ उम्मेदवार चुनावी मैदानमा छन् । त्यसैगरी, समानुपातिक प्रणालीतर्फ १ हजार ३६३ पुरुष र १ हजार ७७२ महिला गरी ३ हजार १३५ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

यसपटकको निर्वाचनमा कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता कायम भएका छन् । जसमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य मतदाता रहेका छन् । यसबाहेक १ लाख ८६ हजार १४२ अस्थायी मतदाताले पनि आफ्नो मताधिकार प्रयोग गर्ने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनलाई व्यवस्थित बनाउन देशभर १० हजार ९६७ मतदानस्थल र २३ हजार ११२ मतदान केन्द्रहरू निर्धारण गरिएको छ । साथै, १४३ अस्थायी मतदानस्थल समेत तोकिएका छन् । आयोगले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त र गर्भवती महिलाहरूलाई सहज रूपमा मतदान गर्न प्राथमिकता दिने विशेष व्यवस्था मिलाएको छ ।

निर्वाचनको सुरक्षा र व्यवस्थापनका लागि ठूलो सङ्ख्यामा जनशक्ति परिचालन गरिएको छ । सुरक्षातर्फ ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, १ हजार ९२१ राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी र १ लाख ४९ हजार ९० म्यादी प्रहरी खटिएका छन् । निर्वाचन सम्पन्न गराउन २ लाख १५ हजार कर्मचारी मतदान केन्द्रहरूमा परिचालित भएका छन् । आयोगले प्रत्यक्ष र समानुपातिकतर्फ गरी कुल ४ करोड २२ लाख ५१ हजार २०० मतपत्र छपाइ गरी सबै केन्द्रहरूमा पुर्‍याइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।