लोड हुँदैछ...

मेनु

भोजपुरको दिङ्लामा एमाले कार्यालयमा पैसा बाँडेको भन्दै तनाव

भोजपुरको दिङ्लामा एमाले कार्यालयमा पैसा बाँडेको भन्दै तनाव

भोजपुर । निर्वाचनको मौन अवधि वा मतदानको पूर्वसन्ध्यामा भोजपुरको षडानन्द नगरपालिकास्थित दिङ्ला बजारमा नेकपा एमालेको सम्पर्क कार्यालयमा पैसा बाँडेको आरोप लागेपछि केही समय स्थिति तनावग्रस्त बनेको छ । अन्य राजनीतिक दलका कार्यकर्ताहरूले एमालेले भोट किन्नका लागि पैसा बाँडेको दाबी गर्दै नाराबाजी गरेपछि प्रहरीले उक्त कार्यालयमा छापा मारेको थियो ।

सार्वजनिक भएको एक भिडियोमा दिङ्ला बजारमा रहेको नेकपा एमालेको सम्पर्क कार्यालय बाहिर ठूलो संख्यामा सुरक्षाकर्मी र स्थानीयको भिड देखिन्छ । भिडियोमा एक व्यक्तिले भनेका छन्, ‘ल हेर्नुस् दिङ्लाको ताजा अवस्था, यहाँ चाहिँ खुसु–खुसु दिङ्ला बजारमै मान्छे बोलाउँदै पैसामा भोट किन्ने अवस्था हुँदा यहाँ स्थानीय जनताहरूले यो गलत भो भन्दै हुनुहुन्छ ।’ उनले थप भनेका छन्, ‘निर्वाचनको बेला पैसा दिँदै एकजनालाई सुटुक्क माथिबाट लाँदै, सम्पर्क कार्यालयमा पैसा दिँदै पठाउने गरेपछि यहाँ आन्दोलन भइरहेको छ । दिउँसैदेखि एक–एक जनालाई पसाउँदै पैसा दिँदै पठाएको प्रमाण छ भन्ने कुरा यहाँ आएको छ ।’

उक्त घटनापछि स्थानीय प्रशासन र प्रहरीले तत्कालै सक्रियता देखाएको थियो । भोजपुरका प्रहरी प्रमुख डिएसपी राजु लामाले घटनाको सत्यतथ्यबारे जानकारी दिँदै बाहिर चर्चा भएजस्तो पैसा फेला नपरेको स्पष्ट पारेका छन् । ‘यो आरोप लगाएको मात्रै हो, प्रहरी पुगेर खानतलासी गर्दा केही रकमहरू बरामद भएको छैन । भोलिको रणनीति र कर्मचारी व्यवस्थापनको विषयमा १०–११ जना बसेका रहेछन्,’ उनले भने ।

डिएसपी लामाका अनुसार अन्य दलका प्रतिनिधिहरूले ठूलो रकम भएको दाबी गरेपछि प्रहरी टोलीले एमालेको कार्यालयमा खानतलासी गरेको थियो । उनले थपे, ‘हाम्रो इन्स्पेक्टर साब नै पठाएर खानतलासी गर्दा उहाँहरूले भनेजस्तो रकम केही फेला परेन । हामीले अरु विरोध गर्ने पार्टीका प्रमुख प्रतिनिधिहरूलाई पनि फोन गरेर वस्तुस्थिति बताएका छौँ ।’

प्रहरीले घटनालाई सामान्य विवादको रूपमा व्याख्या गरेको छ । ‘आफ्नो पार्टी कार्यालयमा सरसल्लाहमा बस्दा उठाउँदै लाने हो भने त भोलि यो नजिर राम्रो हुँदैन भन्ने कुरा उहाँहरूले पनि बुझ्नुभएको छ,’ डिएसपी लामाले भने, ‘अहिले स्थिति सामान्य भइसकेको छ, यो कुनै ठूलो विषय होइन ।’

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।