लोड हुँदैछ...

मेनु

आचारसंहिता उल्लंघन गर्नेलाई कार्वाहीको माग गर्दै अनशन

आचारसंहिता उल्लंघन गर्नेलाई कार्वाहीको माग गर्दै अनशन

धरान । सुनसरी क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा निर्वाचन आचारसंहिता उल्लंघन गर्दै बाल अधिकार हनन भएको उजुरी गर्दा पनि दोषीमाथि कारबाही नभएको भन्दै धरान बाल सञ्जालले आमरण अनशन सुरु गरेको छ।

मंगलबार बिहान १२ बजेदेखि धरान–८ स्थित निर्वाचन कार्यालय अगाडि सञ्जाल धर्नामा बसेको हो।

अनशनमा सञ्जालका संयोजक रोजन शंकर बसेका छन्। उनका अनुसार बाल सञ्जालले अघि सारेका माग सम्बोधन नभएपछि बाध्य भएर आमरण अनशन सुरु गरिएको हो।

सञ्जालका अध्यक्ष मानव गदाइलीद्वारा हस्ताक्षरित मागपत्रमा श्रम संस्कृति पार्टीकी समानुपातिक उम्मेदवार मिना सिंह र तत्कालीन धरान उपमहानगरपालिका–४ का वडा अध्यक्ष धनबहादुर राईलगायतलाई कारबाही गर्नुपर्ने माग गरिएको छ। उनीहरूले बालबालिकालाई दुरुपयोग गर्दै चुनावी प्रचारका भिडियो बनाई सामाजिक सञ्जालमा प्रसारण गरेको आरोप सञ्जालले लगाएको छ।

त्यस्तै, श्रम संस्कृति पार्टीका उम्मेदवार हर्क साम्पाङ र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार उद्धव श्रेष्ठले चुनावी प्रचारका क्रममा बालबालिकालाई नाराबाजी, जुलुस तथा प्रचार अभियानमा सहभागी गराएको आरोप पनि सञ्जालले लगाएको छ। सञ्जालले बाल अधिकार दुरुपयोग गर्नेहरूबाट असुरक्षा बढेको भन्दै आफ्ना सदस्यहरूको सुरक्षाको जिम्मेवारी राज्यले लिनुपर्ने मागसमेत अघि सारेको छ।

यसअघि फागुन १३ र १७ गते सञ्जालले विभिन्न राजनीतिक दलहरूले प्रचारप्रसारका क्रममा बालबालिकालाई प्रयोग गरेको भन्दै प्रमाणसहित निवेदन दिएको जनाएको छ। तर, सुनसरी–१ को निर्वाचन कार्यालयले उक्त निवेदन जिल्लामा फरवार्ड नगरेको आरोप लगाउँदै नगर बाल सञ्जाल धर्नामा बसेको थियो।

माघ ११ गते सञ्जालका प्रतिनिधि रोजन शंकर र अध्यक्ष मानव विश्वकर्माले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता गराएका थिए। सुनसरी–१ का निर्वाचन अधिकृत दिव्यराज घिमिरेका अनुसार स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै निर्वाचन आयोगले श्रम संस्कृति पार्टीलाई २५ हजार रुपैयाँ जरिवाना गरेको थियो।

पहिलोपटक कारबाही भएपछि पनि पुनः सोही पार्टीबाट आचारसंहिता उल्लंघन भएको उजुरी परेको सञ्जालको दाबी छ। निर्वाचन कार्यालय परिसरमा धर्ना बस्नु आचारसंहिता विपरीत भएको भन्दै प्रहरीले अनशनकारीलाई हटाउन खोजेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।