लोड हुँदैछ...

मेनु

धनकुटामा मतगणनास्थलको तयारी पूरा

धनकुटामा मतगणनास्थलको तयारी पूरा

धनकुटा । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतगणनाका लागि धनकुटा नगरपालिका–५ स्थित सामुदायिक भवनमा आवश्यक तयारी पूरा गरिएको छ।

मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र इङ्नामका अनुसार मतगणना स्थलमा सीसी क्यामेरा जडान गरिएको छ भने जेनेरेटर र इन्भर्टरमार्फत वैकल्पिक विद्युत् आपूर्तिको प्रबन्ध गरिएको छ।

विद्युत् आपूर्तिमा कुनै अवरोध आए पनि गणना कार्य निरन्तर सञ्चालन गर्न सकिने गरी वैकल्पिक बत्तीसमेत जडान गरिएको उनले जानकारी दिए। मतगणनालाई सुरक्षित र व्यवस्थित बनाउन भवनको भीत्री भाग वरिपरि तारजालीको घेरा हालिएको छ।

मतगणनास्थल प्रवेशद्वारमा सुरक्षाकर्मी परिचालन गरी अनधिकृत व्यक्तिको प्रवेशमा कडाइ गरिनेछ। मतगणना कक्षमा उम्मेदवारका प्रतिनिधि, पर्यवेक्षक र सञ्चारकर्मीका लागि छुट्टाछुट्टै स्थान निर्धारण गरिने इङ्नामले बताए।

मतपेटिका सुरक्षित रूपमा राख्न छुट्टै कोठाको व्यवस्था गरिएको छ भने पर्याप्त प्रकाश, खानेपानी तथा शौचालय सुविधा पनि सुनिश्चित गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

गणनास्थल वरपर भीड नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र निर्वाचन सुरक्षामा खटिएका सुरक्षाकर्मीको बहुस्तरीय घेरा रहनेछ। निर्वाचन आयोगको निर्देशिका अनुसार मतगणना सुरु गर्नुअघि सर्वदलीय बैठक बस्ने र गणनाको कार्यविधि स्पष्ट पारिने जनाइएको छ।

मतपरिणाम आधिकारिक सूचना बोर्ड तथा सञ्चारमाध्यममार्फत नियमित रूपमा सार्वजनिक गरिने इङ्नामले बताए।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds