विराटनगर । निर्वाचनको मौन अवधि सुरु भएसँगै सुनसान बनेको विराटनगरमा सोमबार मध्यराति भेटिएको शंकास्पद वस्तुले सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राख्यो।
जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि, विराटनगर महानगरपालिका–७ स्थित डाँफे चोकमा कालो प्लास्टिकको झोलाभित्र राखिएको वस्तु बम हुनसक्ने आशंकामा रातभर प्रहरी र नेपाली सेना परिचालन गरिएको थियो।
सिसी क्यामेरामा स्कुटरमा आएका एक व्यक्तिले झोला राखेर फर्किएको दृश्य देखिएपछि सुरक्षाकर्मी झन् सचेत बनेका थिए। निर्वाचनको संवेदनशील समय, प्रशासन कार्यालय नजिकको स्थान र मध्यरातको समय भएकाले सम्भावित जोखिमलाई गम्भीर रूपमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीले तत्कालै सो क्षेत्र सिल गरेर डाँफे चोक आसपासका सडक खाली गराएको थियो। आवतजावत रोकिएको थियो भने म्यादी प्रहरीसमेत परिचालन गरिएको थियो। बम हुनसक्ने आशंकामा नेपाली सेनाको टोलीसमेत बोलाइएको थियो। पूर्वी पृतनाअन्तर्गतको सूर्यदल गण बाट आएको टोलीले रातभर निगरानी बढाएको थियो।
मंगलबार बिहान करिब ७ बजेतिर सेनाको टोलीले शंकास्पद वस्तु निष्क्रिय पार्ने प्रक्रिया सुरु गरेको थियो। बाक्लो सुरक्षा घेराबीच झोला खोल्दा त्यसमा पूजाआजा गरी मन्साइएको माटोको सानो हाँडी भेटिएको प्रहरीले जनाएको छ। हाँडीभित्र खरानी र अन्य पूजासामग्री रहेको बताइएको छ।
मोरङका प्रहरी प्रमुख एसपी कबित कटवालले निर्वाचनको संवेदनशील समय भएकाले कुनै जोखिम लिन नसकिने अवस्था रहेको बताए। “मध्यरातमा प्रशासन कार्यालय अगाडि शंकास्पद वस्तु राखिएको देखिएपछि सम्भावित खतरा भन्दै उच्च सतर्कता अपनाइएको हो,” उनले सञ्चारकर्मीसँग भने, “जाँचपछि मात्र पूजाको सामग्री भएको पुष्टि भयो।”
घटनापछि डाँफे चोक क्षेत्र पुनः सामान्य अवस्थामा फर्किएको छ। यद्यपि, सार्वजनिक स्थानमा मध्यरातमा शंकास्पद वस्तु राख्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।
निर्वाचनको मुखमा यस्ता घटनाले सर्वसाधारणमा अनावश्यक त्रास सिर्जना गर्ने भएकाले सुरक्षाकर्मीले सचेत रहन र शंकास्पद गतिविधि देखिए तत्काल जानकारी दिन आग्रह गरेका छन्।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।