विराटनगर । रङहरूको पर्व होली आज तराईका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइँदैछ । हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज उल्लासमय वातावरणमा यो पर्व मनाउन लागिएको हो ।
आज झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी (बर्दघाट सुस्ता पूर्व र पश्चिम), रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलगायतका जिल्लामा रङ र अबिर खेलेर होली मनाइँदैछ ।
विशेषगरी मगर र थारू समुदायको बाक्लो बसोबास रहेको नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा होली पर्वलाई विशेष महत्त्वका साथ मनाउने गरिएको छ । सबै प्रकारका भेदभावलाई बिर्सेर एक(अर्कालाई रङ हाल्दै आपसी भ्रातृत्व र खुसी साटासाट गर्ने यो पर्वलाई सामाजिक सद्भावको प्रतीक मानिन्छ ।
पहाडी जिल्लामा सोमबार सार्वजनिक बिदा दिइएको भए पनि सरकारले तराईका जिल्लाहरूमा आज सार्वजनिक बिदा दिएको छ ।
होली पर्वलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउन प्रहरीले विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ । प्रहरीले अपरिचित व्यक्तिसँग होली नखेल्न, कसैको इच्छाविपरीत रङ नलगाउन र रसायनयुक्त रङको प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । साथै, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउनेमाथि विशेष निगरानी राखिएको र कुनै पनि अप्रिय घटना वा आपराधिक गतिविधि देखिएमा तुरुन्त प्रहरीको हटलाइन नम्बर १०० मा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।