काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ गते हुन लागेको निर्वाचनका लागि आफ्नो औपचारिक अपिल जारी गरेको छ ।
पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव कुमार नेपालले बिहीबार संयुक्त अपिल जारी गर्दै राष्ट्रिय स्वाधीनता, सुशासन र आर्थिक–सामाजिक रूपान्तरणलाई निर्वाचनको मुख्य एजेन्डा बनाएका छन् ।
विभिन्न २२ वटा कम्युनिष्ट तथा समाजवादी शक्तिहरू एकीकृत भएर बनेको नेकपाले फागुन २१ को निर्वाचनलाई ऐतिहासिक अवसरको रूपमा चित्रण गरेको छ । अपिलमा भनिएको छ, “हामी व्यवस्था बदल्ने शक्ति हौँ, अब जनताको अवस्था बदल्ने प्रतिबद्धताका साथ मैदानमा आएका छौँ ।”
नेकपाले आफ्नो अपिलमा सुशासन र पारदर्शितालाई विशेष प्राथमिकता दिएको छ । भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ को नीति लिने घोषणा गर्दै पार्टीले उच्चस्तरीय सम्पत्ति छानबिन आयोग गठन गर्ने बाचा गरेको छ । सार्वजनिक पदमा बसेका व्यक्तिहरूको सम्पत्ति जाँच गरी अवैध देखिएमा त्यसलाई राष्ट्रियकरण गर्ने कडा नीति नेकपाले अघि सारेको छ ।
वर्तमान निर्वाचन प्रणाली खर्चिलो र जटिल भएको भन्दै नेकपाले यसलाई सरल, कम खर्चिलो र राजनीतिक स्थिरता सुनिश्चित हुने गरी सुधार गर्ने प्रस्ताव गरेको छ । जननिर्वाचित संविधानसभाबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्दै संवैधानिक प्रक्रियाअनुसार आवश्यक परिमार्जन गर्दै जाने पार्टीको धारणा छ ।
बेरोजगारी, व्यापार घाटा र महँगीलाई अर्थतन्त्रको मुख्य चुनौती औंल्याउँदै नेकपाले आयातमुखी अर्थतन्त्रलाई विस्थापित गरी स्वाधीन अर्थतन्त्र निर्माण गर्ने लक्ष्य राखेको छ । कृषि, उद्योग, ऊर्जा र पर्यटन क्षेत्रमा उत्पादन वृद्धि गर्ने र प्रगतिशील कर प्रणाली लागू गर्ने योजना अपिलमा उल्लेख छ ।
पार्टीले ‘नेपाली विशेषताको वैज्ञानिक समाजवाद’ लाई आफ्नो दीर्घकालीन लक्ष्य बनाएको छ । जातीय, क्षेत्रीय, लैङ्गिक र वर्गीय विभेदको अन्त्य गर्दै छुवाछुत, छाउपडी र बोक्सी जस्ता कुप्रथा विरुद्ध प्रभावकारी कदम चाल्ने प्रतिबद्धता दुई नेताले व्यक्त गरेका छन् । शिक्षा, स्वास्थ्य र रोजगारीलाई मौलिक हकको रूपमा पूर्ण कार्यान्वयन गर्ने नेकपाको दाबी छ ।
राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता र सार्वभौमसत्ताको रक्षालाई पार्टीले शिरोपर गरेको छ । असमान सन्धि–सम्झौताहरू खारेज गर्ने र अतिक्रमित नेपाली भूमि फिर्ता लिन कूटनीतिक पहल गर्ने विषयलाई अपिलमा प्राथमिकताका साथ उठाइएको छ । समानता र अहस्तक्षेपको आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन गर्ने नेकपाले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।