विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी मोरङमा सुरक्षा व्यवस्था कडा पारिएको छ । निर्वाचनको सुरक्षाका लागि भर्ना भएका ४ हजार ९५४ निर्वाचन प्रहरी लाई आइतबारदेखि कार्यक्षेत्र फिल्डमा खटाउन सुरु गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङले छनोट भएका ती जनशक्तिलाई जिल्लाका विभिन्न मातहतका प्रहरी इकाइहरूमा परिचालन गरेको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा मतदान केन्द्रको सुरक्षा, गस्ती र शान्ति सुरक्षा कायम गर्न उनीहरूलाई फिल्डमा पठाइएको प्रहरीले जनाएको छ ।
मोरङका प्रहरी प्रमुख एसपी कवित कटुवालले निर्वाचन सुरक्षामा खटिने सुरक्षाकर्मीहरू उच्च मनोबल र व्यावसायिक प्रतिबद्धताका साथ मैदानमा उत्रिएको बताए । ‘निर्वाचनलाई भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न हाम्रा प्रहरी कर्मचारीहरू उमंग, जोश र दृढ प्रतिबद्धताका साथ खटिएका छन्,’ एसपी कटुवालले भने, ‘छनोट भएका ४ हजार ९५४ जनालाई नै आवश्यक तालिम र निर्देशनपछि सम्बन्धित कार्यक्षेत्रमा पठाइएको छ ।’

प्रहरीका अनुसार मोरङको भौगोलिक संवेदनशीलता र मतदान केन्द्रहरूको वर्गीकरणका आधारमा सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचनको समयमा हुन सक्ने सम्भावित उच्छृङ्खल गतिविधि रोक्न र मतदातालाई सुरक्षित महसुस गराउन चौबिसै घण्टा सुरक्षा गस्ती बढाइएको छ । ४ हजार ९ सय निर्वाचन प्रहरी थपिएसँगै जिल्लाको सुरक्षा संयन्त्र थप मजबुत भएको प्रहरीको दाबी छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।