लोड हुँदैछ...

मेनु

डा. शेखर कोइरालाको चुनावी प्रचार : रातो किताबका प्रायः योजना हरियो किताबमा हुबहु

डा. शेखर कोइरालाको चुनावी प्रचार : रातो किताबका प्रायः योजना हरियो किताबमा हुबहु

विराटनगर । नेपाली कांग्रेसका नेता तथा मोरङ क्षेत्र नं. ६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. शेखर कोइरालाले चुनावी प्रचारका लागि सार्वजनिक गरेको हरियो रंगको कार्यविवरण पुस्तिका यतिबेला चर्चा र विवादमा परेको छ ।

सरकारले बजेट विनियोजन गरेका र स्थानीय तहले कार्यान्वयन गरिरहेका रातो किताबमा उल्लेखित विकास योजनाहरूलाई कोइरालाले आफ्नो पहलमा भएको भन्दै हरियो किताबमा राखेका छन् । जसमा झण्डै दुई अर्ब २४ करोडका साढे ४ सयभन्दा बढी योजना छन् ।

नेपाली कांग्रेस मोरङ क्षेत्र नं. ६ को मुल प्रचार प्रसार समितिद्वारा प्रकाशित उक्त पुस्तिकामा आ.व. २०८०÷८१ देखि २०८३ सम्म भएका विकास निर्माणका कार्यहरू भन्दै सूची प्रस्तुत गरिएको छ । पुस्तिकामा विराटनगर महानगरपालिका, सुन्दरहरैंचा नगरपालिका र बुढीगंगा गाउँपालिकाका विभिन्न वडामा सञ्चालित साना–ठूला सयौं योजनाहरूको विवरण छ ।

पुस्तिकाभित्र सडक कालोपत्रे, ढल निर्माण, मन्दिर तथा सामुदायिक भवन निर्माण, तटबन्ध र खानेपानी जस्ता योजनाहरू छन्, जसको बजेट ५ लाखदेखि १० करोडसम्म उल्लेख छ ।

सामान्यतया सरकारले वार्षिक बजेटमा समावेश गरेका योजनाहरूलाई रातो किताब भनिन्छ । यी योजनाहरू जनताले तिरेको करबाट राज्यको नियमित प्रक्रियाअन्तर्गत कार्यान्वयन हुन्छन् । तर, डा. कोइरालाले आफ्नो चुनावी प्रचारका क्रममा ती सबै सरकारी योजनाहरूलाई पार्टी र आफ्नो व्यक्तिगत पहलमा भएको उपलब्धिका रूपमा प्रस्तुत गरेका छन् ।

संघीय सरकारको बजेट शीर्षकसमेत उल्लेख गरिएका योजनाहरू उक्त पुस्तिकामा हुबहु सारिएको छ । यसले गर्दा विपक्षी दलहरू र स्थानीय तहका प्रतिनिधिहरूले ‘राज्यकोषबाट भएको कामलाई व्यक्तिगत जस लिन खोजेको’ भन्दै आलोचना गरेका छन् ।

पुस्तिकाको पृष्ठ ११ र १२ मा सहरी विकास मन्त्रालय अन्तर्गतका योजनाहरूमा स्पष्ट रूपमा सरकारी कोड र बजेट रकम उल्लेख गरिएको छ । यो सरकारी रेकर्डको हुबहु कपी हो । वडा र पालिका स्तरबाट विनियोजन भएका ५ लाख, १० लाखका स–साना योजनाहरूलाई पनि केन्द्रीय नेताको पहलको रूपमा देखाइएको छ । २०८३ सालसम्म हुने भनिएका कतिपय योजनाहरू अझै सम्पन्न नभएका वा प्रक्रियामै रहेका भए पनि तिनलाई भएका कार्यहरूको सूचीमा राखिएको छ ।

निर्वाचनको मुखमा मतदातालाई रिझाउन विकासका फेहरिस्त देखाउने पुरानै चलन भए पनि सरकारी ढुकुटीबाट भएका नियमित कामलाई पार्टीको मेनिफेस्टो जस्तो गरी बाँड्नुलाई राजनीतिक विश्लेषकहरूले ‘नैतिकताको प्रश्न’ भनेका छन् ।
कांग्रेस कार्यकर्ताहरूले भने डा. शेखर कोइरालाकै पहलमा यी बजेटहरू मोरङ–६ मा भित्रिएको दाबी गर्दै यसलाई प्रगति विवरणको संज्ञा दिएका छन् । तर, सर्वसाधारणमा भने वडाले गरेको नाली निर्माण र नगरपालिकाले गरेको सडक मर्मत पनि नेताकै गोजीबाट आएको पैसा हो र ? भन्ने प्रश्न उब्जिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।