सुनसरी । चुनाव हार्ने डरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अराजक गतिविधिमा उत्रिएको आरोप लागिरहेका बेला सुनसरी क्षेत्र नम्बर ४ मा रास्वपा कार्यकर्ता र नेपाली कांग्रेसका कार्यकर्ताबीच हिंसात्मक झडप भएको छ ।
शनिबार सुनसरीको भोक्राहा नरसिङ गाउँपालिका–४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्र बहादुर कार्की चुनावी सभालाई सम्बोधन गर्न जाँदै गर्दा रास्वपाका कार्यकर्ताहरूले अवरोध सिर्जना गरेपछि झडपको स्थिति बनेको हो ।
बाटोमा रास्वपाका केही युवाहरूले कांग्रेसको टोलीलाई लक्षित गरी विवाद सुरु गरेपछि स्थिति नियन्त्रण बाहिर गएको थियो । दुवै पक्षका कार्यकर्ताहरूबीच हात हालाहाल र कुटाकुट सुरु भएपछि प्रहरीले बल प्रयोग गर्नुपरेको थियो । परिस्थिति असामान्य बन्दै गएपछि निर्वाचन सुरक्षामा खटिएको प्रहरी टोलीले लाठीचार्ज गरेर भीडलाई तितरबितर पारेको छ ।
सुनसरीका प्रहरी उपरीक्षक (एसपी) केशव थेवेका अनुसार कांग्रेसको भ्रातृ संगठन तरुण दल र रास्वपाका कार्यकर्ताहरूबीच झडप भएको हो । “छिमेकी नै रहेका दुई फरक राजनीतिक दलका कार्यकर्ताहरूबीच विवाद बढ्दै गएर झडपको अवस्था सिर्जना भयो, जसलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गर्नुपरेको छ,” एसपी थेवेले जानकारी दिए ।
अध्यक्ष केपी शर्मा ओलीले झापामा रास्वपाले चुनाव भाँड्न खोजेको र हिंसामा उत्रिएको भनी दिएको अभिव्यक्तिलाई सुनसरीको यो घटनाले थप पुष्ट्याइँ गरेको विश्लेषण गर्न थालिएको छ । चुनावी प्रतिस्पर्धामा कमजोर देखिन थालेपछि रास्वपाले विपक्षी दलका कार्यक्रमहरूमा अवरोध गर्ने र मुठभेड निम्त्याउने रणनीति लिएको दाबी गरिएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।