झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आगामी निर्वाचनमा आफ्नो हार सुनिश्चित देखेर हिंसात्मक र अराजक गतिविधिमा उत्रिएको आरोप लगाएका छन् ।
शनिबार झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले रास्वपाले चुनाव जित्ने कुनै आधार नदेखेपछि समाजमा तनाव बढाउने र अभद्र व्यवहार प्रदर्शन गर्ने बाटो रोजेको टिप्पणी गरे ।
“रास्वपाले अब चुनाव जितिन्न भन्ने निष्कर्ष निकालेको जस्तो देखिन्छ,” ओलीले भने, “त्यसैको परिणामस्वरुप उनीहरूले कतै झण्डा जलाउने त कतै अत्यन्तै अभद्र, अमर्यादित र अशोभनीय व्यवहार देखाएर तनाव सिर्जना गरिरहेका छन् ।”
अध्यक्ष ओलीले रास्वपाको पछिल्लो प्रवृत्ति ‘जिते चुनाव लड्ने, नजिते चुनावै हुन नदिने’ खालको रहेको दाबी गरे । हारको डरले उनीहरू चुनावै भाँड्ने स्थितिमा पुगेको ओलीको भनाइ छ । उनले अगाडि थपे, “आफ्नो पक्षमा नतिजा आउँदैन भन्ने लागेपछि चुनावै लड्न नदिने प्रवृत्ति उनीहरूमा देखिएको छ । पछिल्ला घटनाक्रम हेर्दा रास्वपा नियोजित रूपमै चुनाव भाँड्ने खेलमा लागेको स्पष्ट हुन्छ ।”
चुनाव कुनै बलजफ्ती गर्ने विषय नभएको उल्लेख गर्दै ओलीले रास्वपालाई लोकतान्त्रिक मूल्य–मान्यताभित्र बस्न सुझाव दिए । उनले मतदाताले कुनै पनि डर वा डिस्टर्बेन्सविना निर्भय वातावरणमा आफ्नो मत दिन पाउनुपर्ने र निर्वाचन प्रक्रिया स्वच्छ, शान्तिपूर्ण तथा धाँधलीरहित हुनुपर्नेमा जोड दिए ।
एमालेले सधैं निर्वाचनको पारदर्शिता र निष्पक्षताको वकालत गर्दै आएको भन्दै ओलीले चुनाव भाँड्न खोज्ने रास्वपाको अराजक गतिविधिले लोकतन्त्रलाई कमजोर बनाउने चेतावनी समेत दिए ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।