विराटनगर । नेपाली कम्युनिष्ट पार्टीले कोशी प्रदेशलाई मुलुकको प्रमुख ‘उद्योग तथा पर्यटन हब’ र त्रिदेशीय व्यापारको रणनीतिक मार्गका रूपमा विकास गर्ने उच्च प्राथमिकतासहितको आर्थिक एजेण्डा अघि सारेको छ ।
आगामी निर्वाचन २०८२ का लागि सार्वजनिक गरिएको पार्टीको प्रतिवद्धतापत्रमा कोशी प्रदेशको भौगोलिक विशिष्टतालाई उपयोग गर्दै यसलाई भारत र चीन जोड्ने आर्थिक सेतु (त्रिदेशीय सर्किट) बनाउने उद्घोष गरिएको हो ।
नेकपाले कोशी प्रदेशको पहिचानका रूपमा रहेका नगदे बालीहरू चिया, कफी, अलैंची र सुपारीको निर्यातबाट मात्रै समृद्धि सम्भव नभएको निष्कर्ष निकाल्दै यस्ता वस्तुको ‘मूल्य अभिवृद्धि’ का लागि विशेष प्रशोधन केन्द्रहरू स्थापना गर्ने योजना अघि सारेको छ ।
प्रतिवद्धतापत्रमा भनिएको छ, ‘कोशी प्रदेशलाई उद्योग र पर्यटनको केन्द्रका रूपमा विकास गरिनेछ । यहाँका मुख्य उत्पादनहरू चिया, कफी, अलैंची र सुपारीका लागि आधुनिक प्रशोधन केन्द्रहरू स्थापना गरी निर्यातमुखी अर्थतन्त्रमा योगदान दिइनेछ ।’ साथै, स्थानीय हस्तकला उद्योगलाई पनि विशेष प्राथमिकतामा राखिएको छ ।
पूर्वी नेपाल पर्यटन सर्किट र पूर्वाधार
पर्यटनलाई आर्थिक समृद्धिको मेरुदण्ड मान्दै नेकपाले ‘पूर्वी नेपाल पर्यटन सर्किट’ को एकीकृत विकास गर्ने अवधारणा ल्याएको छ । यस अन्तर्गत धार्मिक, सांस्कृतिक र साहसिक पर्यटनलाई जोड दिइनेछ ।
वराहक्षेत्र र पाथीभरा जस्ता आस्थाका केन्द्रहरूमा पर्यटकीय पूर्वाधार निर्माण गर्ने, प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा साहसिक पदयात्रा र पर्यावरणमैत्री पर्यटन प्रवर्द्धन गर्ने, कोशी प्रदेशलाई चीन र भारतसँग जोड्ने ‘कोशी उत्तर–दक्षिण लोकमार्ग’ लाई रणनीतिक व्यापारिक मार्गका रूपमा विकास गर्ने योजना प्रतिबद्धतापत्रमा नेकपाले समावेश गरेको छ । यसले कोशी प्रदेशलाई त्रिदेशीय व्यापारिक सर्किटको मुख्य विन्दु बनाउनेछ, जसबाट ट्रान्जिट व्यापारमार्फत ठूलो राजस्व संकलन र रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ ।
पूर्वाधार विकासकै सन्दर्भमा, मोरङमा अन्तर्राष्ट्रिय मापदण्डको क्रिकेट मैदान निर्माण गरी खेल पर्यटनमार्फत आर्थिक गतिविधि चलायमान बनाउने प्रतिवद्धतामा उल्लेख छ ।
कृषि क्षेत्रको रूपान्तरणका लागि कोशीका तराई जिल्लाहरूमा मसिनो तथा सुगन्धित धान, प्याज र तेलहन उत्पादन बढाउन विशेष प्याकेज ल्याइने उल्लेख छ । पहाडी जिल्लाहरूमा कृषि प्रशोधन करिडोर निर्माण गरी किसानको उत्पादनलाई सिधै बजार र उद्योगसँग जोडिनेछ ।
प्रशासनिक र सामाजिक रूपान्तरणका लागि कोशी प्रदेशमा बहुसंख्यकले बोल्ने बान्तवा र लिम्बू भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिने नेकपाको एजेण्डा छ । यसले स्थानीय तहमा सेवा प्रवाहलाई सहज बनाउने र नागरिकको राज्यप्रतिको अपनत्व बढाउने विश्वास पार्टीले लिएको छ ।
पार्टीको यो योजना कार्यान्वयन भएमा कोशी प्रदेश केवल प्रशासनिक इकाईमा मात्र सीमित नभई नेपालको आर्थिक विकासको ‘इन्जिन’ बन्ने र यसले दक्षिण तथा उत्तरका विशाल बजारहरू बीच व्यापारिक सेतुको काम गर्ने विश्लेषण गरिएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।