लोड हुँदैछ...

मेनु

अन्तरवार्ता

“एमालेसँग जनताका कुनै गम्भीर प्रश्न छैनन्”–घनश्याम खतिवडा

“एमालेसँग जनताका कुनै गम्भीर प्रश्न छैनन्”–घनश्याम खतिवडा

नेकपा एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडा मोरङको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार छन् । पार्टीको गाउँ कमिटीदेखि प्रदेशको नेतृत्वसम्म पुगेका उनी एमालेभित्र तल्लो तहका कार्यकर्ता र जनतासँग प्रत्यक्ष जोडिने नेताका रूपमा चिनिन्छन्। विगतमा एक कार्यकाल प्रतिनिधि सभा सदस्य भइसकेका उनी तेस्रो पटक फेरि चुनावी प्रतिस्पर्धामा ओर्लिएका छन् । प्रस्तुत छ चुनावको तयारीका सन्दर्भमा खतिवडासँग गरिएको संक्षिप्त कुराकानीः

तपाईँको चुनावी तयारी कस्तो छ ? कत्तिको उत्साहित हुनुहुन्छ ?
चुनावी तयारी एकदमै राम्रो र उत्साहजनक ढंगले अगाडि बढिरहेको छ। म अहिले निकै उत्साहित छु। विशेषगरी अन्य पार्टीहरू, खासगरी नेपाली कांग्रेस परित्याग गरेर साथीहरू नेकपा एमालेमा प्रवेश गर्ने लहर चलेको छ। आज मात्रै नौ जना साथीहरू एमालेमा प्रवेश गर्नुभएको छ। मोरङकै लेटाङ नगरपालिका वडा नम्बर १ र आरुबोटेका साथीहरूलाई हामीले भव्य स्वागत गर्यौँ। कोणसभाहरूमा जनताको उपस्थिति र समर्थन हेर्दा म यो निर्वाचन राम्रो मतान्तरले जित्नेमा पूर्ण रूपमा विश्वस्त छु।

यसपटक चुनावी मैदानमा केही नयाँ पार्टीहरूको पनि चर्चा छ, उनीहरूले कत्तिको प्रभाव पार्ने देख्नुहुन्छ ?
अहिलेको चुनावमा ‘घण्टी’ वा ‘माटो’ जस्ता नयाँ भनिएका पार्टीहरूको केही चर्चा त सुनिएको छ। तर मेरो विश्लेषणमा उहाँहरू मुख्य प्रतिस्पर्धामा हुनुहुन्न। उहाँहरूको भूमिका भनेको कांग्रेस र एमालेको केही भोट काट्ने मात्र हो। हाम्रो फिल्ड रिपोर्ट अनुसार, एमालेको भन्दा कांग्रेसको भोट धेरै काटिने देखिएको छ। यसले गर्दा हामी कांग्रेसभन्दा धेरै अगाडि छौँ। मुख्य प्रतिस्पर्धा एमाले र कांग्रेसकै बीचमा हो, जसमा एमाले बलियो अवस्थामा छ।

घरदैलोका क्रममा जनताका अपेक्षाहरू के कस्ता पाउनुभएको छ? जनताले तपाईँलाई कस्ता प्रश्न गरिरहेका छन् ?
जनताका अपेक्षाहरू पहिलेको तुलनामा केही बदलिएका छन्। तर एउटा कुरा के प्रष्ट छ भने, जनताले मलाई कुनै गम्भीर वा घेर्ने खालका प्रश्नहरू गरेका छैनन्। म अघिल्लो कार्यकालमा सांसद हुँदा जनताका लागि प्रसस्त काम गरेका कारण उहाँहरू मप्रति सकारात्मक हुनुहुन्छ। कहिँकतै ‘मेरो घर छेउको बाटो बनेन, उताको चाहिँ बन्यो’ भन्ने जस्ता साना र व्यक्तिगत गुनासाहरू छन्, जुन स्वाभाविक हो। ती गुनासाहरूलाई पनि उहाँहरूले ‘अघिल्लो पटक हार्नुभएकोले काम रोकिएको होला’ भन्दै आफैँ समाधानको भाषामा बोल्नुहुन्छ।

तपाईँको विचारमा एक सांसदको मुख्य जिम्मेवारी के हुनुपर्छ र तपाईँको एजेण्डा के हो ?
मेरो स्टाइल स्पष्ट छ— म नीति निर्माण र कानुन बनाउनका लागि संसदमा जाने हो। राज्यका लागि असल नीति र नियमहरू बनाउनु मेरो प्राथमिक जिम्मेवारी हो। यसका साथै, जनताका भावना र आवश्यकतालाई संसदमा प्रखर रूपमा उठाउने काम म गर्छु। विकास निर्माणका कामहरूमा म पहिले पनि जोडिएको थिएँ र आगामी दिनमा पनि जनताका सार्वजनिक र व्यक्तिगत समस्याहरूसँग प्रत्यक्ष जोडिएर काम गर्ने मेरो प्रतिबद्धता छ।

कोशी प्रदेशको समग्र अवस्थालाई कसरी हेर्नुभएको छ? एमालेको पोजिसन के होला ?
कोशी प्रदेशका २८ वटै निर्वाचन क्षेत्रमा नेकपा एमाले सशक्त रूपमा प्रतिस्पर्धामा छ। हामीले प्राप्त गरेका रिपोर्टहरू र जनलहरलाई हेर्दा कोशी प्रदेशमा एमाले पहिलो र ‘लिड पार्टी’ को रूपमा आउने निश्चित छ। हामी सबै क्षेत्रमा बलियो छौँ र नतिजा हाम्रै पक्षमा आउनेमा म विश्वस्त छु।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds