विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिएसँगै कोशी प्रदेशको राजनीतिक सरगर्मी उत्कर्षमा पुगेको छ । फागुन ३ गतेसम्म आन्तरिक तयारी र जनभेटघाटमा व्यस्त रहेका राजनीतिक दलहरू फागुन ४ गतेदेखि आमसभा र घरदैलोसहितको दोस्रो चरणको प्रचारप्रसारमा होमिएका छन् । चुनावी मैदानमा उत्रिएका प्रमुख दलहरूले जितको अंकगणित सुनाइरहँदा कोशी प्रदेशका कुल २८ निर्वाचन क्षेत्रमा मुख्य दलहरूको दाबी जोड्ने हो भने करिब ६० सिट पुग्छ ।
निर्वाचनको मुखमा सबै दलहरू आफू नै पहिलो शक्ति बन्ने आत्मविश्वासका साथ मैदानमा छन् । तर, २८ सिटका लागि गरिएको चुनावमा दलहरुको महत्त्वाकांक्षी दाबीले कोशीको चुनावी परिणाम विगतको जस्तो कुनै एक दलको ‘पकेट’ मा सीमित नरहेको र प्रतिस्पर्धा निकै कडा हुने संकेत गरेको छ ।
दलहरूको दाबी र जितका आधार
नेपाली कांग्रेस कोशी प्रदेशका सभापति उद्धव थापा यसपटक कांग्रेसले कम्तीमा १५ सिट जित्ने दाबी गर्दछन् । उनको जितको मुख्य आधार पार्टीले गरेको नीति र नेतृत्वको परिवर्तन हो । “कांग्रेस यसपटक नयाँ सोच र नयाँ नेतृत्वका साथ मैदानमा छ, कार्यकर्तामा देखिएको अभूतपूर्व एकताले हामीलाई ५० प्रतिशतभन्दा बढी सिटमा विजयी गराउनेछ,’ थापाले भने ।
यता, नेकपा एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडा भने आफ्नो पार्टीले अरूभन्दा बढी परिणाम निकाल्नेमा ढुक्क रहेको बताए । एमालेको जितको मुख्य आधार मजबुत संगठन र अघिल्ला कार्यकालमा गरिएका कामहरूलाई बनाइएको छ । खतिवडा भन्छन्, ‘हाम्रो संगठनको जग अरूको भन्दा बलियो छ, जनताले एमालेको कामको मूल्यांकन यसपटकको मतपत्रबाट गर्नेछन् ।’ उनले अरु दलको भन्दा बढी १२ सिटसम्म जित्न सक्ने आधार देखिएको बताए ।
त्यसैगरी, नेपाली कम्युनिष्ट पार्टीका प्रदेश सचिव गणेश उप्रेती ’सुशिल’ ले पनि कम्तीमा १२ सिट जित्ने दाबी गरेका छन् । आन्तरिक सर्वेक्षण र संगठन परिचालनका आधारमा आफूहरू १२ सिटमा बलियो रहेको उनको तर्क छ । ‘हामीले सुक्ष्म अध्ययन गरेका छौँ, कोशीमा हाम्रो उपस्थिति निर्णायक हुनेछ,’ उप्रेतीले दाबी गरे ।
सबैभन्दा बढी सिटको दाबी गर्नेमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देखिएको छ । रास्वपाका केन्द्रीय सदस्य तेजलाल कर्णले २८ मध्ये २१ सिटमा आफ्नो पार्टी विजयी हुने दावी गरे । ‘नयाँ लहर र पुराना दलप्रतिको वितृष्णा नै हाम्रो जितको आधार हो, हामीले २१ सिटमा जित निकाल्ने गरी तयारी गरेका छौँ,’ कर्णले भने ।
दलहरूले आ–आफ्नो जितको दाबी गरिरहँदा पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अघिल्ला दिनहरूको तुलनामा केही दबाबमा परेको विश्लेषण हुन थालेको छ । सुरुवाती चरणमा देखिएको ‘नयाँ लहर’ लाई परम्परागत दलहरूले आफ्नो संगठन परिचालनमार्फत चुनौती दिन थालेपछि रास्वपाको चुनावी नतिजा सोचेभन्दा फरक पर्न सक्ने अनुमान गरिएको छ । यसले गर्दा चुनावी परिणाम झन् अनिश्चित बनेको छ ।
कसको पकेटमा कति ?
सबै दलले आफूलाई ‘विजेता’ का रूपमा प्रस्तुत गरिरहेका कारणले कोशीमा यसपटक समान र कडा प्रतिस्पर्धा हुने देखिएको छ । कुनै समय नेकपा एमालेको मुख्य आधारजस्तो देखिएको यस प्रदेशमा अहिले अरु दलहरुले पनि उस्तै आत्मविश्वासका साथ जितको दावी गरिरहेका कारण यस पटक नेकपा एमालेलाई आफ्नो पुरानो गढ जोगाउने निकै कठिन हुने देखिएको छ । यसपटक नयाँ र पुराना शक्तिबीचको टक्करले नतिजा जो कसैको पक्षमा जान सक्ने सम्भावना जीवित छ ।
चुनावी विश्लेषकहरूका अनुसार दलहरूको यो दाबीले मतदाताहरूमा पनि कौतूहल बढाएको छ । २८ सिट भएको प्रदेशमा दलहरूको ६० सिटको दाबीले ‘यसपटक कोशी प्रदेशको चुनावी परिणाम विगतको जस्तो सजिलो छैन । प्रतिस्पर्धा यति तीव्र छ कि झिनो मतान्तरले नतिजा उलटपुलट हुन सक्छ । कोशीको यो चुनावी रोनक र दलहरूको दाबीको असली परीक्षा भने फागुन २१ गते हुने मतदानले नै फैसला गर्नेछ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।