लोड हुँदैछ...

मेनु

मत सर्वेक्षणले निर्वाचनको स्वच्छतामा दाग लाग्छ : आयुक्त भण्डारी

मत सर्वेक्षणले निर्वाचनको स्वच्छतामा दाग लाग्छ : आयुक्त भण्डारी

विराटनगर । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सञ्चार जगत्को भूमिका महत्त्वपूर्ण हुने बताएका छन् । शुक्रबार विराटनगरमा आयोजित निर्वाचन आचारसंहिताको कार्यान्वयन र मिडियाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

आयुक्त भण्डारीले सञ्चारमाध्यमले सम्प्रेषण गर्ने सकारात्मक समाचारले निर्वाचन आयोगको उत्साह बढाउने उल्लेख गर्दै निर्वाचनका सरोकारवाला पक्षहरूलाई सुसूचित गराउने मुख्य दायित्व सञ्चारकर्मीकै भएको बताए ।

सम्बोधनका क्रममा उनले निर्वाचनको परिणामलाई प्रभाव पार्ने गरी कुनै पनि प्रकारका मत सर्वेक्षण नगर्न सञ्चारमाध्यमहरूलाई आग्रह गरे । ‘कसले जित्छ वा कसले हार्छ भनेर गरिने अग्रिम मत सर्वेक्षणले मतदातालाई प्रभावित पार्छ, जुन कानुनतः वर्जित छ,’ उनले भने, ‘यस्तो कार्यले निर्वाचनको स्वच्छतामा दाग लाग्ने भएकाले यसप्रति सचेत रहन आवश्यक छ।’

आगामी निर्वाचनको कार्यतालिकाबारे चर्चा गर्दै आयुक्त भण्डारीले फागुन १८ गते राति १२ बजेदेखि ‘शून्य समय’ मौन अवधि सुरु हुने जानकारी दिए । उक्त अवधिमा निर्वाचन प्रचारप्रसार गर्न नपाइने र सो समयमा मिडियाले आयोगको तेस्रो आँखा बनेर आचारसंहिता उल्लङ्घनका घटनाहरूलाई निगरानी गर्नुपर्नेमा जोड दिए । यदि कतै अवैध क्रियाकलाप वा आचारसंहिता विपरीतका काम भएमा तत्काल समाचारमार्फत आयोगलाई जानकारी गराउन उनले आग्रह गरे ।

अहिलेको युवा पुस्ताले मुलुकमा सुशासनको खोजी गरिरहेको बताउँदै आयुक्त भण्डारीले भने, ‘यो निर्वाचन केवल आवधिक मात्र नभई सुशासन स्थापनाका लागि अपरिहार्य छ। अनुशासित र मुलुकप्रति उत्तरदायी जनप्रतिनिधि चुनिएर आउने वातावरण बनाउनु हामी सबैको जिम्मेवारी हो।’ कार्यक्रममा जिल्लाका सुरक्षा निकायका प्रमुखहरू, निर्वाचन अधिकारीहरू र स्थानीय सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।