लोड हुँदैछ...

मेनु

फेरि पनि आश्वासनको ‘नहर’ बगाउँदै डा.शेखर

पुराना योजना अलपत्र छोडेर ब्रह्मपुरकाका जनतालाई नयाँ सपना

पुराना योजना अलपत्र छोडेर ब्रह्मपुरकाका जनतालाई नयाँ सपना

विराटनगर । विराटनगरको नहर पश्चिम क्षेत्र, जो सुगम सहरभित्रको ‘दुर्गम’ उपमाले चिनिन्छ, त्यहाँ पुगेर नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले फेरि आश्वासनको ठूलै पोको फुकाएका छन् । विराटनगर–६ को ब्रम्हपुरा टोलमा आयोजित सभामा कोइरालाले सुकुम्बासी समस्या समाधानदेखि स्थानीयलाई रोजगारी दिनेसम्मका पुराना र नयाँ सपनाहरूको चाङ लगाएका हुन् ।

कोइरालाले वर्षौंदेखि अल्झिएको सुकुम्बासी मुद्दालाई सम्बोधन गर्ने दाबी गर्दै भने, “तपाईंहरूको समस्या बुझ्न र समाधान खोज्न म दुई–तीन दिनभित्रै सुकुम्बासी आयोगका सदस्यलाई यहाँ पठाउँछु ।” यति मात्र होइन, उनले केशलिया खोलामा तटबन्ध निर्माणको टेन्डर प्रक्रियामा रहेको सुनाउँदै त्यहाँ स्थानीयले नै रोजगारी पाउने आश्वासन दिए । उनले भने, “त्यहाँ काम गर्ने कामदार तपाईंहरू नै हुने हो, बाहिरको मान्छे आएर काम गर्ने होइन, तपाईंहरूले नै रोजगारी पाउनुहुन्छ ।” तर, सरकारी टेन्डर र निर्माणको आफ्नै मापदण्ड हुने ठाउँमा नेताले सिधै ‘तपाईंहरूले नै काम पाउनुहुन्छ’ भन्नु सस्तो लोकप्रियताका लागि दिइएको आश्वासन मात्र देखिन्छ ।

रोचक त के छ भने, कोइराला आफैँले यसअघि तामझामका साथ शिलान्यास गरेका अस्पताल र ज्येष्ठ नागरिक भवनका योजनाहरू अहिले पनि अलपत्र छन् । उनले बजेट अभावका कारण काम रोकिएको स्वीकार गर्दै फेरि ‘अब म बनाउँछु र आफैँ उद्घाटन गर्छु’ भन्दै पुरानै बाचा दोहो¥याए । विगतमा एउटा सानो कल्भर्ट बनाएको विषयलाई ठूलो उपलब्धिका रूपमा प्रस्तुत गर्दै आफ्ना बाचा पूरा गरेको दाबी गरे पनि नहर पश्चिमको वास्तविक चित्र भने अझै फेरिएको छैन । कोइराला स्वयम्ले यो क्षेत्र अत्यन्तै पछि परेको र “गाउँ जस्तो” रहेको स्वीकारेका छन्, जुन वर्षौंदेखि यस क्षेत्रको राजनीतिक बागडोर सम्हाल्दै आएका नेताका लागि आफैँमा गम्भीर प्रश्न हो ।

कार्यक्रममा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले मैथिली भाषामा स्थानीयको भावनासँग खेल्दै भने, “अहा सब के दुःखमा हम सब दिन रहबे, जतेक दुःख छै उ सब हम सहि लेबे” (तपाईंहरूको दुःखमा म सधैँ साथ रहनेछु, जति दुःख छ त्यो म सहिदिनेछु) । कार्कीले डा. शेखरलाई जिताएर पठाए मात्रै देश र यस क्षेत्रको विकास हुने दाबी गरे ।

पुराना योजना अलपत्र छोडेर नयाँ सपना देखाउने कोइरालाको यो शैली ‘आश्वासन माथि आश्वासन’ को एउटा अर्को कडी मात्र बनेको छ । सुकुम्बासी टोलमा पुगेर तत्कालै टोली पठाउने र रोजगारीको ग्यारेन्टी गर्ने उनका शब्दहरूले स्थानीयमा आशाभन्दा बढी आशङ्का उब्जाएको छ । नहर पश्चिमका बासिन्दाले अब आश्वासनको नहर होइन, ठोस विकास खोजिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।