इटहरी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट सुनसरी क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा उम्मेदवार अशोक चौधरीले घन्टीमा भोट नहाल्नेहरू राष्ट्रघाती हुन् भनेपछि सुनसरीको इटहरीमा आयोजित कार्यक्रममा लफडा भएको छ।
बिहीबार इटहरी जेसीजले आयोजना गरेको सुनसरी क्षेत्र नं. २ र ३ का उम्मेदवारबीचको ककस कार्यक्रमको अन्त्यतिर चौधरीले दिएको अभिव्यक्तिप्रति सहभागीहरू आक्रोशित बनेका थिए।
कार्यक्रममा बोल्दै चौधरीले कुनैपनि दलको स्पष्ट बहुमत नआए संविधानको व्यवस्था बमोजिम एक वा एकभन्दा बढी दल मिलेर सरकार गठन गर्नुपर्ने अवस्था आउने बताए। उनले रास्वपाले यस निर्वाचनमा दुईतिहाइ बहुमतको लक्ष्य राखेको उल्लेख गर्दै देशको निकास र भविष्यका लागि एउटा दललाई दुईतिहाइ दिन नागरिकले भूमिका खेल्नुपर्ने धारणा राखे।
उनले भने, “यदि तपाईँले परिवर्तन आवश्यक ठान्नुभएको छ भने दुईतिहाइ पुर्याउन तपाईँ पनि लाग्नुस्। राष्ट्रिय स्वतन्त्र पार्टी लागेको छ। यदि तपाईँ लाग्नुहुन्न भने तपाईँ अस्थिर सरकार चाहिरहनुभएको छ। तपाईँ देशविरोधी हो। राष्ट्रघाती हो। त्यसका लागि तपाईँ सचेत हुनुपर्छ।”
उनको उक्त अभिव्यक्तिपछि कार्यक्रममा सहभागी युवाहरूले होहल्ला गर्दै प्रतिवाद गरेका थिए। सहभागीहरूले मतदातालाई ‘राष्ट्रघाती’ ठहर गर्ने भाषा आपत्तिजनक र अलोकतान्त्रिक भएको भन्दै नाराबाजी गरेका थिए।
स्टेजमै रहेका घनश्याम गुरुङ ले समेत “हामी तपाईँसँग चुनाव लड्दैछौँ, के हामी राष्ट्रघाती हौँ?” भन्दै प्रश्न उठाएका थिए। अन्य उम्मेदवारहरूले पनि लोकतान्त्रिक प्रतिस्पर्धामा मतदातालाई देशविरोधी भन्ने अभिव्यक्ति अनुचित भएको टिप्पणी गरेका थिए।
नाराबाजीका क्रममा ‘घण्टी मुर्दावाद’का नारा लागेपछि कार्यक्रम केहीबेर अवरुद्ध भएको थियो। अवस्था तनावपूर्ण बन्दै गएपछि प्रहरीले चौधरीलाई सुरक्षा दिँदै कार्यक्रमस्थलबाहिर निकालेको थियो।
ककस कार्यक्रममा नेपाली काँग्रेसका सुनसरी–२ का उम्मेदवार राजीव कोइराला, नेकपा (एमाले)का सुजन लामा, नेकपाकी सुनसरी–२ कै उम्मेदवार रामकुमारी चौधरी, उज्यालो नेपालका गोपाल तामाङलगायत विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरूको सहभागिता रहेको थियो।
इटहरी जेसीजले उम्मेदवारहरूलाई उत्तरदायी बनाउने र मतदातासँग प्रत्यक्ष संवाद गराउने उद्देश्यले ककस कार्यक्रम आयोजना गरेको जनाएको छ। यस घटनापछि चुनावी प्रतिस्पर्धामा प्रयोग हुने भाषाशैली र राजनीतिक सहिष्णुताबारे पुनः बहस सुरु भएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।