विराटनगर । झापा क्षेत्र नम्बर ५ मा नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार रञ्जित तामाङले ‘३५ मिसन, २१ लक्ष्य र १७० गौरव योजना’ समेटिएको ३३ बुँदे ‘भिजन पेपर’ सार्वजनिक गरेका छन्। तामाङले आफ्नो प्रतिबद्धता पत्रमार्फत राजनीतिक व्यवस्था, भ्रष्टाचार नियन्त्रण र सामाजिक सुरक्षामा आमूल परिवर्तनको खाका पेस गरेका छन् ।
उनले मुलुकमा राजनीतिक स्थायित्वका लागि ‘प्रत्यक्ष कार्यकारी राष्ट्रपति’ र संसद् बाहिरका विज्ञहरू सम्मिलित मन्त्रिमण्डलको एजेन्डालाई प्रमुखताका साथ अघि सारेका छन्। यस्तै, स्थानीय तहको निर्वाचनलाई दलीय सिन्डीकेटभन्दा बाहिर राखी ‘गैरदलीय प्रतिस्पर्धा’ अर्थात् स्वतन्त्रहरूबीचको लडाइँ बनाउने कानुनी व्यवस्थाको उनले वकालत गरेका छन् ।
भ्रष्टाचार नियन्त्रणका लागि तामाङले २०४६ सालपछिका सबै किसिमका अनियमितता र भ्रष्टाचारको छानबिन गर्न एउटा अधिकारसम्पन्न संसदीय समिति गठन गर्ने र दोषीलाई कानुनी दायरामा ल्याउने बाचा गरेका छन् ।
सामाजिक सुरक्षातर्फ उनले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाको धनीपुर्जा उपलब्ध गराउनुका साथै उनीहरूका लागि शिक्षा, स्वास्थ्य, बिजुली र खानेपानी पूर्ण रूपमा निःशुल्क गर्ने सङ्कल्प गरेका छन्। साथै, युवाहरूलाई रोजगारीको ग्यारेन्टी नहुन्जेलसम्म निश्चित मापदण्डका आधारमा ‘बेरोजगारी भत्ता’ दिने प्रस्तावसमेत उनले अघि सारेका छन्।
विकास निर्माणका लागि तामाङले क्षेत्रका २९ वटै वडामा ‘एक वडा ः एक गौरव योजना’ सहित ५ वर्षमा १७० वटा ठूला आयोजना सम्पन्न गर्ने गणितीय कार्यतालिका सार्वजनिक गरेका छन्। जसमा दमक बहुमुखी क्याम्पसलाई ‘शैक्षिक टावर’ बनाउने देखि भारतीय पूर्व सैनिकका लागि सिएसडी क्यान्टिन खोल्ने र नदी किनारमा कोरिडोर निर्माण गर्ने जस्ता रोचक र महत्त्वाकाङ्क्षी योजनाहरू समेटिएका छन्।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।