विराटनगर । नेकपा एमाले कोशी प्रदेशका अध्यक्ष एवं मोरङ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार घनश्याम खतिवडाले निर्वाचनको प्रचारप्रसारका क्रममा विवादास्पद र उग्र अभिव्यक्ति दिएका छन्।
सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडियोमा नेता खतिवडाले एमाले र यसका उम्मेदवार विरुद्ध ‘गलत प्रचार’ गर्नेहरूको ‘घाँटी अठाउने’ भन्दै खुल्ला धम्की दिएका हुन्। एउटा चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले एमालेका कार्यकर्ताहरूलाई ‘अरिङ्गाल’ को संज्ञा दिँदै विपक्षी वा आलोचना गर्नेहरूलाई कडा चेतावनी दिएका छन्।
सम्बोधनका क्रममा उनले भनेका छन्, ‘नेकपा एमालेको पंक्ति आज अरिङ्गाल जस्तो पंक्ति छ भन्ने कुरा बुझ्नुहोला। गलत ढंगका प्रचार सुरु भए भने घाँटी अठाउँदा याद होला, त्यति कुरा चाहिँ मैले भन्नुपर्ने हुन्छ।’ उनले अगाडि थपे, ‘म कसैलाई गलत ढंगले भन्दिनँ, तर जब गलत ढंगका प्रचार सुरु हुन्छन्, त्यस पछाडि एमाले पंक्ति खनिएपछि त्यसको सामना गर्न चाहिँ चर्कै हुन्छ।’
निर्वाचनको मुखमा जिम्मेवार ओहोदामा रहेका र संसद्का लागि उम्मेदवारी दिएका नेताबाट यस किसिमको धम्कीपूर्ण भाषा प्रयोग हुनुलाई राजनीतिक वृत्तमा गम्भीरतापूर्वक हेरिएको छ। निर्वाचन आचारसंहिताले उम्मेदवारहरूलाई संयमित र मर्यादित भाषा प्रयोग गर्न निर्देशित गरे पनि खतिवडाको यो अभिव्यक्तिले आचारसंहिताको उल्लंघन गरेको भन्दै आलोचना सुरु भएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।