भोजपुर । भोजपुरमा प्रजातान्त्रिक आन्दोलनका अग्रज योद्धा दिवानसिंह राईको शालिक अनावरण गरिएको छ।
भोजपुरस्थित नेपाली काँग्रेसको पार्टी कार्यालय बिपी स्मृति भवन परिसरमा निर्माण गरिएको शालिक आज एक विशेष कार्यक्रमबीच अनावरण गरिएको हो।
शालिक अनावरण प्रजातान्त्रिक योद्धा दिवानसिंह राईकी छोरी तथा पूर्वसभासद कुमारी लक्ष्मी राईले गरेकी हुन्। कार्यक्रममा बोल्दै उनले दिवानसिंह राईले लोकतन्त्र, शिक्षा र सामाजिक रूपान्तरणका लागि पुर्याएको योगदान सधैं स्मरणीय रहने बताइन्।
भोजपुरको तत्कालीन छिनामखु गाविसमा १९८१ सालमा जन्मिएका दिवानसिंह राई २०१५ सालमा बिपी कोइरालाको प्रधानमन्त्रीत्वमा गठन भएको सरकारमा गृहराज्यमन्त्री बनेका थिए। पञ्चायती व्यवस्था सुरु भएपछि २०१७ साल पुस १ गतेपछि उनी निरन्तर आठ वर्ष बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, रामनारायण मिश्र र योगेन्द्रमान शेरचनसँगै सुन्दरीजल जेलमा थुनिएका थिए।
जेल जीवनपछि पनि राई शिक्षा, सामाजिक अभियान र राजनीतिक आन्दोलनमा सक्रिय रहेको छोरी कुमारी लक्ष्मी राईले जानकारी दिइन्। उनी एक साहित्यकारसमेत रहेका थिए। उनका ‘निर्दोष हत्या’ र ‘रिकुटे’ लगायतका कृतिहरू प्रकाशित छन्।
प्रजातान्त्रिक आन्दोलनका योद्धा दिवानसिंह राईको २०२९ साल भदौ २ गते कुमकुम झोडामा हत्या गरिएको थियो। उनको योगदानको कदरस्वरूप स्थापना गरिएको शालिकले भोजपुरमा प्रजातन्त्रका लागि गरिएको संघर्षलाई भावी पुस्तासम्म स्मरण गराउने विश्वास सहभागीहरूले व्यक्त गरेका छन्।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।