काठमाडौँ ।चर्चित कलाकार ज्योति मगरले आगामी निर्वाचनमा नयाँ वा पुराना दल र अनुहारभन्दा पनि राष्ट्रियता, स्वाधीनता र दीर्घकालीन विकासको स्पष्ट भिजन बोकेको शक्तिले जित्नुपर्ने धारणा राखेकी छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले देशलाई बाह्य शक्तिको ‘प्रयोगशाला’ बनाउन नहुनेमा जोड दिएकी छन् ।
पछिल्लो समय राजनीतिमा चर्चामा रहेको ‘पुराना हेरेर सकियो, अब नयाँलाई मौका दिऔँ’ भन्ने नारामाथि प्रश्न उठाउँदै मगरले केवल नयाँ हुनु नै समस्याको समाधान नभएको संकेत गरेकी छन् । उनले कुनै पनि राजनीतिक शक्तिसँग देश विकासको ठोस योजना हुनुपर्ने र केवल उत्तेजना वा भ्रम फैलाएर जनतालाई दिग्भ्रमित पार्न नहुने बताएकी छन् ।
नेपालको गौरवशाली इतिहासको स्मरण गर्दै उनले भनिन्, “नेपाल गरिब हुन सक्छ, तर यो कहिल्यै कसैको गुलाम नभएको स्वाधीन राष्ट्र हो ।” उनले विदेशी प्रभाव र विभिन्न शक्ति केन्द्रहरूको एजेन्डाबाट देशलाई जोगाउनुपर्ने भन्दै गालीगलौज र अविवेकपूर्ण राजनीतिले देशको शिर झुकाउने काम गर्न नहुने उल्लेख गरेकी छन् ।
कलाकार मगरले नेपाललाई वैदेशिक शक्तिहरूको क्रीडास्थल बनाउन खोज्ने प्रवृत्तिप्रति कडा आपत्ति जनाएकी छन् । उत्तेजक र अराजक शैली अपनाउनेहरूप्रति लक्षित गर्दै उनले चेतावनीपूर्ण भाषामा भनेकी छन्— “खबरदार १ कुनै भिजन नभएका अविवेकशीलहरूले गालीगलौज, उत्तेजना र भ्रम छर्दै देश जलाउने, सकाउने र झुकाउने काम नगरुन् ।”
उनले थप अगाडि भनेकी छन्, “यो देश कहिले नयाँ, कहिले पुराना, कहिले इन्डिया, कहिले अमेरिका, कहिले ‘रअ’, कहिले ‘सीआईए’ त कहिले ‘फ्री तिब्बत’हरूले प्रयोग गरी हेर्ने प्रयोगशाला होइन ।”
उनले निर्वाचन केवल ‘नयाँ र पुराना’ को बहस वा गणितीय खेल मात्र नभई राष्ट्रवादी सोच र स्वाधीनताको रक्षा गर्ने अवसर हुनुपर्ने बताएकी छन् । अन्त्यमा, उनले आम जनसमुदायलाई राष्ट्र र राष्ट्रिय हितलाई केन्द्रमा राखेर मात्र निर्णय गर्न र भ्रम फैलाउनेहरूलाई चिन्न अपिल गरेकी छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।