लोड हुँदैछ...

मेनु

भवनको संवेदनशीलता मूल्याङ्कनका लागि इन्जिनियरहरूलाई अभिमुखीकरण

भवनको संवेदनशीलता मूल्याङ्कनका लागि इन्जिनियरहरूलाई अभिमुखीकरण

विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयले संरचनात्मक इन्जिनियरिङको नयाँ प्रविधि, ज्ञान, सीप, मूल्य(मान्यता र मूल्याङ्कनबारे कार्यरत इन्जिनियरहरूलाई अभिमुखीकरण प्रदान गरेको छ ।

नेपाल स्ट्रक्चरल इन्जिनियरिङ एसोसिएसन नेपालको सहयोगमा मनमोहन प्राविधिक विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङले कोशी प्रदेशका पालिका र कार्यालयहरूमा कार्यरत सिभिल इन्जिनियरहरूका लागि इँटा-ढुङ्गाबाट बनेका संरचनाहरूको नयाँ निर्माण र प्रबलीकरणबारे नयाँ ज्ञान, सीप र प्रविधिबारे जानकारी गराउन अभिमुखीकरण प्रदान गरेको हो ।

मनमोहन प्राविधिक विश्वविद्यालयको हात्तीमुढास्थित केन्द्रीय कार्यालयमा मङ्गलबारदेखि आयोजना भइरहेको अभिमुखीकरणमा कोशी सरकारका मन्त्रालय, कार्यालय, पालिकाहरू साथै इन्जिनियरिङ क्याम्पस र पेसामा सक्रिय इन्जिनियरहरू सहभागी छन् ।

कार्यरत इन्जिनियरहरूलाई न्युजिल्यान्डको प्रसिद्ध इन्जिनियरिङ कम्पनी रेसिप्रो इन्टरनेसनलुका संरचनात्मक इन्जिनियरिङ विशेषज्ञ निर्देशक डा. जितेन्द्र बोथारा लगायतले सहजीकरण गरेका छन् । विशेषज्ञ सहजकर्ता डा. बोथाराले भूकम्प, आगलागी तथा अन्य प्राकृतिक विपद्का दृष्टिले नेपालका अधिकांश पुराना इँटा(ढुङ्गाबाट निर्मित भवनहरू उच्च जोखिममा रहेको सन्दर्भमा विश्वविद्यालयले नयाँ प्रविधि, ज्ञान, सीप, मूल्य(मान्यता तथा मूल्याङ्कन पद्धतिबारे इन्जिनियरहरूलाई अद्यावधिक गराउने आफ्नो उद्देश्य प्रस्ट पारे ।

अभिमुखीकरणको उद्घाटन गर्दै पूर्वाञ्चल विश्वविद्यालय, इन्जिनियरिङ संकायका डीन प्रा।डा। भोला शर्मा घिमिरेले निर्माण गरिने निजी र सार्वजनिक महत्त्वका संरचनाहरू सबल भए मात्र विशेषज्ञ इन्जिनियरहरू पनि सफल हुने भएकाले सक्रिय इन्जिनियरहरू सधैँ नयाँ ज्ञान, सीप र प्रविधिबारे निरन्तर अद्यावधिक भइरहनुपर्ने र यसका लागि अभिमुखीकरण अनिवार्य हुने बताए ।
नेपाल स्ट्रक्चरल इन्जिनियरिङ एसोसिएसनका अध्यक्ष कृष्णसिंह बस्नेतले परम्परागत प्रविधिमा निर्माण भएका सार्वजनिक र सांस्कृतिक भौतिक संरचनाहरू सधैँ भूकम्पीय जोखिममा हुने भएकाले अब नयाँ ज्ञान, सीप र प्रविधिसहित सुरक्षित रूपले निर्माण गराउने जिम्मेवारी दक्ष इन्जिनियरहरूको हुने बताए । उनले नेपालजस्तो भूकम्पीय जोखिमयुक्त मुलुकमा मेसनरी भवनको संवेदनशीलता मूल्याङ्कन जनधनको सुरक्षा र सुरक्षित सहरी विकासका लागि अभिमुखीकरण अति आवश्यक भएको बताए । तालिमले इन्जिनियरहरूको प्राविधिक क्षमता अभिवृद्धि हुनुका साथै स्थानीय तह, सहरी योजना र पुनर्निर्माण कार्यमा गुणस्तरीय निर्णय लिन सहयोग पुग्ने अध्यक्ष बस्नेतले बताए ।

पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस, धरानका प्रमुख काजीराम कार्कीले सही प्राविधिक ज्ञान र सीपमा आधारित भएर संरचनाहरू निर्माण नहुँदा प्राकृतिक नभएर कृत्रिम मानवीय विपत्ति बन्न सक्ने भएकाले अन्तर्राष्ट्रिय नयाँ प्रविधिहरूलाई प्रयोगमा ल्याउनुपर्नेमा जोड दिए ।

मनमोहन प्राविधिक विश्वविद्यालयकी डीन डा। रेखा श्रेष्ठले विश्वविद्यालयलाई अध्ययन र अनुसन्धानमा सक्रिय बनाइराख्न स्ट्रक्चरल इन्जिनियरिङ एसोसिएसन नेपालको सहयोगमा विशेषज्ञ नेपाल आएको अवसर पारेर अभिमुखीकरण आयोजना गरेको बताइन् । मनमोहन प्राविधिक विश्वविद्यालयले आगामी दिनमा पनि संरचनात्मक इन्जिनियरिङ, विपद् जोखिम न्यूनीकरण तथा सुरक्षित निर्माणसम्बन्धी निरन्तर तालिम र अनुसन्धान कार्यक्रम सञ्चालन गर्ने डीन श्रेष्ठले जानकारी दिइन् ।

मङ्गलबारदेखि सुरु भएको अभिमुखीकरणमा सहभागी इन्जिनियरहरूलाई ढुङ्गा र सिमेन्टबाट निर्माण भएका संरचनाको जोखिम पहिचान र मूल्याङ्कन गर्ने आधुनिक प्राविधिक विधिबारे जानकारी गराइनेछ । भवनको संरचनात्मक विशेषता र तिनमा देखिने सामान्य कमजोरीहरू, भूकम्पीय संवेदनशीलता मूल्याङ्कनका चरणहरू, भवनको डिजाइन, निर्माण सामग्री, जोड(जडान र भारवहन क्षमताको विश्लेषण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कोड, मापदण्ड र मार्गदर्शनको प्रयोग, जोखिमको स्तर निर्धारण गरी रेट्रोफिटिङ (संरचना मजबुत बनाउने उपाय) का विकल्पहरूबारे जानकारी गराइनेछ । यसैगरी स्थानीय तहमा जोखिम न्यूनीकरणका लागि प्राविधिक सिफारिस तयार गर्ने तरिका, व्यावहारिक अभ्यास, केस स्टडी तथा वास्तविक भवनको उदाहरणमार्फत मूल्याङ्कन कसरी गर्ने भन्ने विषयबारे पनि छलफलसहित अनुभव आदानप्रदान हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।